जनमत पार्टीले २ जना सांसदलाई पदबाट निष्काशन गर्न सिफारिस गरेको छ। पार्टीका दुईजना समानुपातिक सांसदले अनुशासन उल्लंघन गरेको विषय उठेपछि कारबाही लागि सिफारिस गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
समानुपातिक सांसद सोनु मुर्मर र बिनिता सिंहलाई कारबाहीका लागि सिफारिस गरिएको हो।
‘उहाँहरुमाथि पार्टीको निर्देशन नमानेको, संसदभित्र पर्फर्मेन्स राम्रो नभएको र स्थानीय कार्यकर्ता रुष्ट भएको कारण पार्टीबाट हटाउन संसदीय दलमा सिफारिस भएको छ,’ ती केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘अब बस्ने दलको बैठकले उहाँहरुलाई हटाएको चिठी संसद सचिवालयमा पठाउँछ।’
उनीहरू दुवै जना समानुपातिक सांसद हुन्। मुर्मर मोरङ र सिंह सिरहाका हुन्।
साथै, आज बसेको बैठकले विधान संशोधन गर्दै केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ। अहिले जनमत पार्टीको १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ।
प्रतिक्रिया