उपसभामुख शिवमाया तुम्बाहाङ्फे बालुवाटार पुगेकी छन्।
आइतबार मध्यान्ह प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएपछि उपसभामुख तुम्बाहाङ्फे प्रधानमन्त्री निवास बालुवाटर पुगेकी हुन्।
नेकपा सचिवालय बैठकले शनिबार सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो। सचिवालय बैठकलाई चुनौती दिँदै तुम्बाहाङ्फेले सभामुखको टुंगो नलागेसम्म आफूले राजीनामा नदिने प्रतिक्रिया दिएकी थिइन्।
प्रधानमन्त्री निवासबाट बोलावट भएपछि उपसभामुख बालुवाटार गएको उनको सचिवालयले जनाएको छ। ‘प्रधानमन्त्री निवासबाट वोलावट भएपछि उहाँ त्यहाँ जानुभएको हो’, सचिवालयले नेपालखबरसँग भन्यो। उनले उपसभामुखले राजीनामा दिनेबारे कुनै सोच नबनाएको बताएका छन्। ‘प्रधानमन्त्री निवासबाट फर्केपछि के गर्ने भन्ने विषयमा बल्ल छलफल हुन्छ’, सचिवालयले भन्यो।
संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि प्रतिनिधि सभाको सभामुख पद रिक्त रहेको छ।
पूर्वमाओवादी समूहले तत्कालीन एमाले र माओवादीबीचको भागबण्डामा सभामुख आफ्नो भागमा परेको र अहिले पनि आफूले नै सभामुख सिफारिस गर्न पाउनुपर्ने अडान राखेको छ भने पूर्वएमाले पक्षबाट प्रधानमन्त्री ओलीले सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने पूर्वएमाले समूहबाटै उपसभामुख बनेकी शिवामाया तुम्बाहाङ्फेले पनि सभामुखका दावी प्रस्तुत गर्दै आइरहेकी छन्।
नेकपाले सभामुखको टुंगो नलगाउँदा यसअधि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। संसदको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। संसद बैठक बस्नु अघि नै सभामुखका बारेमा टुंगो लगाउन दुई अध्यक्षबीच वार्ता भएको नेकपाले जनाएको छ।

प्रतिक्रिया