प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिबारे संसदमा गोप्य मतदान गर्न माग गरेकी छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति संसदले निर्क्यौल गर्नुपर्ने बताइन्। यस सम्बन्धमा गोप्य मतदान गर्न आवश्यक रहेको सांसद यादवको भनाइ थियो।
प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि सुस्तालगायतका नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बल प्रयोग गर्ने गरेको भन्दै यसको जवाफ कसले दिने भनि सरकारलाई प्रश्न गरिन्। ‘सुस्तामा हाम्रा नागरिकले भारतीय सीमा सुरक्षा बललाई धपाउनुपर्ने अवस्था आएको छ। त्यसको जवाफ कसले दिन्छ। संसदमा यसको बारेमा गोप्य मतदान गरी निर्क्यौल गरौँ,’ उनले भनिन्।
सांसद यादवले प्रधानमन्त्री शाहले संसदमा दिएको अभिव्यक्तिको जवाफ नआएसम्म विरोध यथावत रहेको बताइन्। त्यसपछि संसद् र बाहिर पनि प्रधानमन्त्री केही नबोलेकाले स्पष्ट पार्नुपर्नेमा उनले जोड दिइन्।
‘प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति उहाँले के सोचेर दिनु भएको हो? के मिडिया ट्रायल हो? यदि मिडिया ट्रायल हो भने त्यो पनि आएर उहाँले सदनमा जवाफ दिनुपर्दछ जस्तो मलाई लाग्दछ,’ उनले भनिन्, ‘होइन भने सीमा जस्तो त्यस्तो संवेदनशील विषयमा कुनै चिज खाएर कुनै जुत्ताको प्रचार गरेजस्तो बोलिदिनुभयो र हिँडिदिनुभयो। त्यसपछि हामीले देखेको छैन। र, त्यो अभिव्यक्तिबारे प्रधानमन्त्रीले केही बोल्नु भएको छैन।’
सांसद यादवले प्रधानमन्त्री शाहको अभिव्यक्तिको ढाकछोप हुनेगरी परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जवाफ दिएको आरोप पनि लगाइन्। परराष्ट्रमन्त्री खनालको प्रष्टीकरणले मात्र नपुग्ने उनको भनाइ थियो।
‘प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिनु भएको अभिव्यक्तिको ठोस जवाफ कहिले आउँछ? म सम्माननीय सभामुखमार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु,’ यादवले भनिन्, ‘विगतमा केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्रमन्त्रीजीले जवाफ दिनुभयो। त्यो सबैलाई थाहा छ- त्यो ढाकछोप गर्ने मात्रै हो। कही पनि नियमावलीमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति कुनै पनि मन्त्रीले जवाफ दिने होइन। मन्त्रीले जवाफ दिने भनेको आफनो विषयगत क्षेत्रमा मात्रै हुन्छ।’
Shares

प्रतिक्रिया