नेकपाको सचिवालय बैठकले शनिबार पदबाट राजिनामा दिन दिएको निर्देशनको अवज्ञा गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई आज लिखित निर्देशन दिने भएको छ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारमा भेटेर उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजिनामा दिन आग्रह गरेका थिए। तर त्यसअनुसार उनले राजिनामा दिन नमानेपछि शनिबार बालुवाटारमै बसेको नेकपा सचिवालय बैठकले राजिनामा दिन निर्देशन दिने औपचारिक निर्णय नै गरेको थियो।
तर उपसभामुख तुम्बाहाम्फेले भने नेकपाले सभामुखको उम्मेदवार तय नगरेसम्म आफुले राजिनामा नदिने अडान लिँदै आएकी छिन्। राजिनामा नगरेर उनले सभामुख चयन प्रक्रिया नै अवरुद्ध गर्न खोजेको निष्कर्षसहित नेकपाले आज लिखित निर्देशन दिन लागेको बुझिएको छ।
नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार आज आइतबार नेकपाले उपसभामुख पदबाट फिर्ता आउन दिखित निर्देशन दिएपछि उनले राजिनामा दिनेछिन्।
‘नेकपा एमालेबाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाम्फेलाई नेकपाले आज उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिन्छ र उहाँले राजीनामा दिनुहुन्छ’, रिजालले आइतबार बिहान ट्वीट गर्दै भनेका छन्।
रिजालले तुम्बाहाम्फे समानुपातिक सांसद भएकाले पार्टीले सांसदबाट नै फिर्ता बोलाउन पनि सक्ने बताएका छन्।
‘किन्तु, परन्तु भन्ने कुरै भएन। समानुपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ’, रिजालले भनेका छन्।
धेरै हल्ला किन गर्नु ? नेकपा (एमाले) बाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाम्फेलाई नेकपाले आज उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिन्छ र उहॉले राजीनामा दिनुहुन्छ । किन्तु, परन्तु, भन्ने कुरै भएन । समानपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ ।
— Bishnu Rijal (@bishnurijal1) January 12, 2020

प्रतिक्रिया