राजनीति


सडकबाट निजी घर बचाउन जानकी मन्दिरको जग्गा अतिक्रमण भएकाे ठहर

सडकबाट निजी घर बचाउन जानकी मन्दिरको जग्गा अतिक्रमण भएकाे ठहर

शैलेन्द्र महतो
पुस २७, २०७६ आइतबार ४:४,

सडक क्षेत्रमा पर्नबाट केही निजी घर बचाउन धनुषाको जनकपुरस्थित जानकी मन्दिर क्षेत्रको जग्गा अतिक्रमण भएको प्रारम्भिक नापजाँच प्रतिवेदनले ठहर गरेको छ।

एडीबी परियोजनाअन्तर्गत सडक निर्माण तथा विस्तार क्रममा जानकी मन्दिरअगाडि फूलबारीको ४ धुर, १ कनमा जग्गा अतिक्रमण भएको जिल्ला प्रशासन कार्यालय (धनुषा)को प्रारम्भिक प्रतिवेदनले ठहर गरेको हो।

janaki patra

नापी कार्यालयबाट खटिएका नापी कार्यालयका सर्वेक्षकले नापजाँच गरी जिल्ला प्रशासनलाई बुझाएको प्रतिवेदन सम्बन्धित सबै निकायमा पठाइएको जनाएको छ।

जानकी मन्दिरअगाडिका केही निजी घर बचाउन जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधिले ८५ लाख रुपैयाँ घुस लिएर मन्दिरअगाडि फूलबारीको पर्खाल भत्काएर सडक विस्तार गरेको कुरा सार्वजनिक भएपछि स्थानीय युवाले काममा अवरोध गरेका थिए।

नगरप्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाले केही निजी घर बचाउन ८५ लाख रुपैयाँ घुस लिएको वडा नं। ३ का वडाध्यक्ष दीपेन्द्र साहले समेत दाबी गरिरहेका छन्। यसको नापजाँच तथा छानबिन गर्न उनको माग छ।

janaki 2

नागरिक समाजका मुरली मनोहर मिश्र, सरोज मिश्र, सुशील कर्णलगायत स्थानीय युवाको समूहले पुनः नापजाँच गरी मापदण्डअनुसार सडक छुट्याउन प्रदेश २ सरकार, जिल्ला प्रशासन कार्यालय (धनुषा)लगायत निकायलाई अनुरोध गरेका थिए।

वडाध्यक्ष साहका अनुसार सडक विस्तारपूर्व गरेको नापीमा त्यहाँका केही निजी घर ६ फिटसम्म सडकमा परेको भन्दै भत्काउन चिनो लगाइएको थियो।

‘पहिलेको नापीमा सडकमा परेर चिनो लगाइएका केही घर भत्काइएन, ८५ लाख रुपैयाँ खाएर उल्टै जानकी मन्दिरको फूलबारीकै सार्वजनिक जग्गा एकपक्षीय अतिक्रमण गरे’ वडाध्यक्ष साहले भने, ‘पछिल्लोपटक भएको नापीमा पनि ४ फिटभन्दा बढी भित्रसम्म सडकमा परेको वडाध्यक्ष साहको भनाइ छ।

सडक विस्तारमा पैसाको चलखेल गरी निजी घर बचाउन जानकी मन्दिरको फूलबारी जग्गा अतिक्रमण गरेको भन्दै ५ महिना पहिलेदेखि विवाद भइरहेको छ। जसका कारण जानकी मन्दिरअगाडिको सडक विस्तार तथा निर्माण हालसम्म पूरा हुन सकेको छैन।

युवाको पहलमा त्यहाँ सरकारी पक्षबाट पटकपटक नापी गरे पनि जनकपुरधाम उपमहानगरपालिकाले त्यसप्रति खासै चासो दिएको छैन।

एक हप्ताअघि मात्र भएको नापजाँचका क्रममा जग्गा अतिक्रमण भएको ठहर भएपछि त्यसैको प्रतिक्रिया लिन पुगेका बेला जनकपुरधामा उपमहानगरपालिकामा मेयरकै साह कार्यकक्षमा उनकै निर्देशनमा पत्रकारलाई आक्रमण तथा कुटपिट भएको थियो।

याे पनि : मेयरकै नेतृत्वमा पत्रकारमाथि कुटपिट (भिडियाे)

तर जनकपुरधाम उपमहानगरपालिकाले घटना मोड्न आफ्नो महिला कर्मचारीलाई पत्रकारले कुटपिट गरेको आरोप लगाइरहेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad