ad ad

राजनीति


प्रधानमन्त्रीलाई २० सांसदको प्रश्न, कसले के सोधे?

प्रधानमन्त्रीलाई २० सांसदको प्रश्न, कसले के सोधे?

केशव सावद
जेठ ४, २०८० बिहिबार १६:६, काठमाडौँ

प्रतिनिधिसभामा बिहीबार प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्ड र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर चल्यो। संसदमा पहिलो पटक गरिएको यो अभ्यासका क्रममा २० जना सांसदले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोधे। 

शून्य, आकस्मिक र विशेष समय प्रभावकारी नभइरहेको र त्यसबेला सोधिएका प्रश्नमा सरकार जवाफदेही नबनेको गुनासोबीच संसदमा नयाँ अभ्यास गरिएको हो। 

सभामुख देवराज घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच छलफलपछि सरकारलाई संसदप्रति उत्तरदायी बनाउन अब हरेक महिनाको पहिलो साता यस्तो अभ्यास हुने छ। 

बिहीबारको संसदमा प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनका १० जना र विपक्षका १० जना तथा स्वतन्त्र सांसदहरूले प्रश्न गरेका हुन्। उनलाई प्रश्न गर्नेमा सत्तारुढ दलहरु नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका १–१ जना सांसद छन्।

यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेका ३, प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टीका १–१ र दुई जना स्वतन्त्र सांसदहरुले पनि उनीसँग जवाफ माग गरेका थिए। 

प्रधानमन्त्रीलाई प्रश्न गर्ने सांसदहरुले पूर्वलडाकु शिविरको भ्रष्टाचार प्रकरण, आर्थिक संकट, नक्कली भुटानी शरणार्थी प्रकरण, शिक्षा, स्वास्थ्य, किसानका समस्या, प्रधानमन्त्रीको भारत भ्रमण, सीमा समस्या, मधेस तथा थरुहट आन्दोलनदेखि शान्ति सम्झौतासम्मका विषयहरु उठाएका थिए। 

प्रधानमन्त्रीलाई कसको प्रश्न के? 

ईश्वरीदेवी न्यौपाने, नेपाली कांग्रेस
सरकारी स्कुलले गुणस्तरीय शिक्षा दिन सक्दैन भन्ने विद्यमान परिस्थिति र मानसिकताका कारण दिनभरी काम गरेर हातमुख जोड्न धौ–धौ पर्ने अभिभावक पनि सकि–नसकी बच्चाको भविष्यको लागि प्राइभेट स्कुलमा भर्ना गर्न बाध्य छन् भने नेपालको डिग्री थन्काएर रोजगारीको लागि ५० डिग्रीको गर्मीमा खाडी मुलुकमा जान बाध्य छन्। सरकारी स्कुल सुधार गर्ने एवं देशमा नै युवालाई रोजगारी सृजना गर्ने सरकारले नीति के छ?

विदेशमा पढ्न जाँदा एक वर्षमा नेपालको कति रुपैयाँ विदेशिन्छ एवं बाहिर रोजगारीबाट एक वर्षमा कति रेमिट्यान्स भित्रिन्छ? कृषिप्रधान देश सधैँ मलको हाहाकार छ, मल कारखाना खोल्ने सरकारको के नीति छ?

पदम गिरी, नेकपा एमाले 
५० खर्ब माथिको हाम्रो अर्थतन्त्रको आकार तर संघीय सरकारको सञ्चित कोषमा १५९ अर्बले घाटा आयोजनाहरुको भुक्तानी दिन ८० अर्बभन्दा बढी बाँकी करिव ६० प्रतिशत पालिका आफ्नो स्रोतबाट प्रशासन चलाउन असक्षम तर प्रदेश र स्थानीय तहले पाउने समानीकरण अनुदानमा ५० प्रतिशतले कटौती। 

यस्तो अवस्थामा राज्यको अनिवार्य दायित्व कसरी निर्वाह गर्नुहुन्छ? संघको कोष खुम्चियो भन्दै प्रदेश र स्थानीय तहले पाउने अनुदान कटौती हुँदा उनीहरुले आफ्नो तजबिजमा बनाउने योजना र खर्चको सोधभर्ना कसरी हुन्छ? उनीहरुले गर्नैपर्ने अनिवार्य दायित्व कसरी पूरा गर्छन्? सरकारको आर्थिक मन्दीको सामना गर्ने योजना के छ?

पूर्णबहादुर खत्री, नेकपा माओवादी केन्द्र 
बृहत् शान्ति सम्झौताको महत्वपूर्ण पाटो बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप सम्बन्धित कार्य शान्तिप्रक्रियाको १८ वर्षसम्म पनि कार्यान्वयन हुन सकिरहेको छैन। द्वन्द्वकालीन मुद्दाहरूलाई शान्ति सम्झौताको मर्मअनुसार समाधान गर्ने भन्दा पनि तत्कालीन विद्रोही पक्ष (माओवादी) लाई फौजदारी अभियोगसम्बन्धी मुद्दाद्वारा तह लगाउने आशयका अभिव्यक्ति र क्रियाकलापहरु सदनभित्र र सदन बाहिर भइरहेका छन्।

तपाई बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता एवं तत्कालीन  विद्रोही पक्षको सर्वोच्च कमाण्डर हुनुहन्छ। हाल तपाईको नेतृत्वमा रहेको सरकारले यसको समाधानका लागि भए गरेका प्रयासहरू र जटिलताहरु के के हुन? र कहिलेसम्म समाधान हुन्छ?

शिशिर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी 
२०७३ साउन २१ मा यहाँको नेतृत्वको सरकारले तराई–मधेस र थरुहट आन्दोलनको छानबिन गर्न लाल आयोग गठन गर्यो। त्यसपछि यहाँहरु पटक–पटक सरकारमा जानु भयो। सरकारका न्युतनतम साझा कार्यक्रमा रिपोर्ट सार्वजनिक गर्ने भन्ने पनि राखियो। ७ बर्षपछि यहाँको नेतृत्वमा सरकार बनेको छ। थारुहटको आन्दोलनको जगमा उठेको उन्मुक्ति पार्टी पनि सरकारमा छ। रिपोर्ट कहिले सार्वजनिक सरकारले रिपोर्ट कहिले सार्वजनिक गर्छ?  

सरकार विभिन्न आयोग बनाउँछ, उच्च शिक्षा आयोगको रिपोर्ट पनि सार्वजनिक गरिएको छैन। आयोगको काममा करोडौं खर्च हुन्छ तर जनताको सु–सुचित हुने अधिकारलाई बन्धक बनाउँदै ती रिपोर्टहरु धूलो खाँदै बस्छन्। सार्वजनिक नभएका सबै रिपोर्ट कहिलेसम्म सार्वजनिक गर्नुहुन्छ?

ज्ञानबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी  
पेन्सन र प्रहरीको तलब दिन नसक्ने स्थिति ४ महिना देखि देखा परेको छ तपाईंको समाधान के छ? र पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण भएको रकममा व्यापक भ्रष्टाचार भएको आरोप छ? तपाई संसदको विशेष समिति गठन गरेर यसको छानविन गर्न तयार हुनुहुन्छ?

दीपक कार्की, जनता समाजवादी पार्टी 
सम्माननीय सभामुखज्यू मार्फत् सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो प्रश्न छ– नागरिकता विधेयक यस अघिको सार्वभौम संसदले दुई पटक पारित गरेको तत्कालीन सम्माननीय राष्ट्रपतिज्यूले प्रमाणीकरण नगरी संविधान मिच्ने काम गर्नुभयो कि भएन? उक्त नागरिकता विधेयक प्रमाणीकरण नभई बसेकाले वर्तमान सम्माननीय राष्ट्रपतिज्यूले प्रमाणीकरण गर्नुहुन्छ वा हुँदैन? उक्त नागरिक विधेयकबारे सम्माननीय प्रधानमन्त्रीज्यूको धारणा के छ?

शेरबहादुर कुँवर, नेकपा एकीकृत समाजवादी
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौंको ठगी धन्दा भएको छ। यस कार्यमा शीर्ष नेतृत्व नै संलग्न रहेको प्रमाण भेटिन थालेको समाचार सञ्चार माध्यमहरूबाट प्रसारण भइरहेको छ। अझ आरोपित भई थुनामा रहेका व्यक्तिहरूले भीभीआईपीका निर्देशनमा भए गरिएका बयानहरू दिइरहेका छन्। खासमा यो के कुरा हो? मानौँ अहिलेका भीभीआईपीहरुका संलग्न भएको प्रमाणहरु जुट्यो भने के गर्नुहुन्छ? उहाँहरूलाई कारबाहीको दायरामा ल्याउनुहुन्छ कि हुँदैन?

यसैगरी मुलुक अहिले आर्थिक रुपमा संकटग्रस्त छ। बजारमा पैसा अभावको कारण अर्थतन्त्र चलायमान हुन सकेको छैन। जनताहरूलाई छाक जुटाउन मुस्किल परिरहेको छ। यो अवस्था कहिलेसम्म रहने? समाधानका लागि प्रधानमन्त्रीज्यूसँग योजना के छ?

अनिता देवी, जनमत पार्टी
किसानहरुलाई धानको बीउ छर्ने समय आइसक्यो। हामी आफ्नो क्षेत्रमा जाँदा किसानहरुको एउटै माग हुन्छ। यसपालि पनि मल र बीउ समयमा पाउँछौँ कि पाउँदैनौँ? किसानहरूको माग पूरा गराउन जनमत पार्टीले लामो समयसम्म किसान आन्दोलन पनि गर्यौँ, जनमत पार्टीका नेता कार्यकर्ताहरुले गोलीसमेत खाए, जेलसम्म गए। अझै अनकौ झुठा मुद्दाहरु किसान आन्दोलनकारीहरु माथि लगाएकै छ। त्यो फिर्ता लिने पहल पनि सरकारले गरेन। के यो सरकारले पनि किसानलाई बेवास्ता गर्ने र किसान आन्दोलनकारीलाई दमन गर्ने नीति नै लिएको हो त?

सर्वेन्द्रनाथ शुक्ल, लोकतान्त्रिक समाजवादी पार्टी
भ्रष्टाचारसम्बन्धी ऐन कानुन, सुशासनअनुरुप राज्यको आचरण र सम्बन्धित निकायहरू बीचको तालमेलको अभावले गर्दा भ्रष्टाचारविरुद्धको कारबाही यथेष्ट रुपमा अगाडि बढ्न सकेको छैन। यो समन्वय कहिलेसम्म र कसरी?

गंगाराम चौधरी, नागरिक उन्मुक्ति पार्टी
२०७२ सालमा थरुहट आन्दोलन गर्दा घटिएको घटनामा निर्दोष पूर्व माननीय रेशमलाल चौधरीसहित जेल जीवन बिताइ रहेका राजबन्दीहरुलाई कहिलेसम्म रिहाई हुन्छ सभामुखमार्फत् प्रश्न गर्दछु। टीकापुर घटनाको लाल आयोग प्रतिवेदन कहिले सार्वजनिक हुन्छ? सुदूरपश्चिम प्रदेशमा कहिलेसम्म सरकारले पूर्णता पाउँछ?

प्रेम सुवाल, नेपाल मजदुर किसान पार्टी
प्रधानमन्त्रीजी नेपाललाई स्वीट्जरल्यान्ड र सिंगापुर भन्नु हुन्थ्यो। अहिले नेपालीलाई भुटानी शरणार्थी किन बनाइयो? रामबहादुर थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्रीजीकै सुरुका कार्यकर्ता होइनन् र? अहिले पो एमाले भएका हुन्। प्रतीक थापा र सन्दीप रायमाझीलगायत नेपालीलाई भुटानी शरणार्थी बनाउने राज्यविरुद्धको कसुर, मानव बेचविखन तथा ओसारपसार, संगठित अपराध, सरकारी कागजात/छाप दस्तखत किर्ते, सार्वजनिक सम्पत्तिको दुरुपयोग/भ्रष्टाचार र ठगीमा लाग्नुमा के प्रधानमन्त्रीहरु जिम्मेवार छैनन् र? चार महिनादेखि सहमति नभएको समिति भागबण्डाबारे यतिबेला नै सहमति कसरी भयो? समितिको भागबण्डासम्बन्धी सहमति भुटानी सरणार्थी काण्डमा संलग्न भएकाहरूलाई उन्मुक्ति दिने तयारी त होइन? ख्वपः विश्वविद्यालयको विधेयक पारित नगरी ज्ञानमा आधारित अर्थतन्त्र कसरी निर्माण हुन्छ?

चित्रबहादुर केसी, राष्ट्रिय जनमोर्चा  
नेपालमा नयाँ प्रधानमन्त्री भएपछि विदेश भ्रमणमा जाँदा पहिले भ्रमण भारतबाटै गर्नु पर्ने नेपालीको के बाध्यता होला?

प्रभु साह, आमजनता पार्टी
अहिलेसम्म नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेहरुको संख्या कति छ? उनीहरुले किन नेपाल त्याग गरे? नेपाल छोडेपछि उनीहरूको सम्पत्तिको अवस्था के छ? विदेश लगे भने के कति सम्पत्ति लगे? यसलाई रोक्न सरकारले अहिलेसम्म के कस्तो कदम चालेको छ? आखिर किन नेपालीहरुले नेपालमा भविष्य देख्न छाडे?

अमरेशकुमार सिंह, स्वतन्त्र 
२०६३ साल पछि ठूला–ठूला भ्रष्टाचारका काण्डहरु पोखरा विमानस्थल, आयल निगमको जग्गा खरिद, वाइडवडी जहाज खरिद, ओम्नी काण्ड, नेपाल ट्रस्टको जग्गा लिज प्रक्रिया, एनसेलको कर छुट, बालुवाटारको ललिता निवास जग्गा काण्डको छानबिन कहिलेदेखि सुरु हुन्छ? साथै राजनीतिरहित गुणस्तरीय सहज एवम् सुलभ तरिकाले शिक्षा, स्वास्थ्य, न्याय एवम् रोजगारी र किसानले समयमा नै मल बीउ र उत्पादनको उचित बजार पाउने दिन कहिले आउँछ?

योगेन्द्र मण्डल, स्वतन्त्र
सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंले यस गरिमामय सदनको पहिलो सम्बोधनमा ६ महिनाभित्र नागरिकता समस्या समाधान गर्छु भन्नुभएको थियो, तर अहिलेसम्म यो विषयमा कुनै प्रगति भएको देखिएन। यो समस्या समाधान गर्नुहुन्छ कि हुँदैन भन्ने मेरो प्रश्न रहेको छ। 

दिपक गिरी, नेपाली कांग्रेस
२०११ सालमा स्थापना भएको दाङ तुल्सीपुरस्थित ऐतिहासिक र मध्यपश्चिमका जनताका लागि महत्वपूर्ण टरीगाउँ विमानस्थल हालसम्म स्तरोन्नति हुन सकेन। हाल तपाईंको प्रधानमन्त्री कालमा एटीआर ७२ वा सो सरह जहाज अवतरण र उडान गर्न सक्ने गरी सो विमानस्थलको धावन मार्ग स्तरोन्नति हुँदैछ भनेर चर्चा चलेको छ। आगामी आर्थिक वर्ष २०८०÷०८१ मा टरीगाउँ विमानस्थलको धावनमार्ग स्तरोन्नति गर्न नेपाल सरकारसँग के–कस्तो योजना र रणनीति रहेको छ?

रघुजी पन्त, नेकपा एमाले 
नेपाल–भारत सम्बन्धमा विविध पक्ष (१९५० को सन्धी लगायत) मा सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप)को प्रतिवेदन तपाईंको भ्रमणका बेलामा दुवै प्रधानमन्त्रीले बुझ्ने काम हुन्छ कि हुँदैन? यदि भारत भ्रमणको बेला पनि बुझ्ने काम भएन भने यो प्रतिवेदन तपाईंले नेपाल फर्केपछि अहिले बुझ्नुहुन्छ?

लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित मिचिएका भूमि फिर्ता गरी नेपाल भारतबीच सीमा समस्या समाधान गर्ने विषय तपाईंको भ्रमण सूचीमा परेको छ कि छैन?

दिलेन्द्रप्रसाद बडू, नेपाली कांग्रेस
सम्माननीय प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा देशको पश्चिमोत्तर सीमा कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवादको एजेन्डा समावेश छ, छैन? यस सन्दर्भमा उच्चस्तरीय वार्ताको कूटनीतिक तयारी के छ?

विद्या भट्टराई, नेकपा एमाले
भ्रष्टाचार, बेथिति र आर्थिक संकटले आमनागरिकलाई आक्रोसित बनाएको छ। चर्चित काण्डका रुपमा चर्चामा रहेका वाइडबडी, एनसेल, क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार, ललिता निवास लगायतका काण्डहरूको फाइल कहिले खुल्छ? नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषी पहिचान गरी कारबाहीको प्रक्रिया अघि बढ्दा आम नागरिक उत्साही भएको अवस्था छ। तर, संशय पनि छ, स्टन्ट, सस्तो लोकप्रियताका लागि मात्र हो कि? यदि होइन भने अनुसन्धानको निष्पक्षता र पारदर्शिता रहन्छ भन्ने सवालमा सदनलाई कसरी विश्वस्त बनाउनुहुन्छ?

रामहरि खतिवडा, नेपाली कांग्रेस  
प्रधानमन्त्री भएको ५ महिना भयो, देशको आर्थिक, सुशासन र राजनीतक स्थिरताका के–के काम भए? अझ ग्रामीण जनताको जीवनस्तर उकास्न के कस्ता कार्यक्रम छन्? अझ भ्रष्टाचार निर्मुलनमा आफ्नो र अर्को भनेर छुट्टाउनु हुन्छ हुन्न? र भूकम्प पिडितलाई बाँकी दोस्रो र तेस्रो किस्ता रकम कहिले सम्म जान्छ? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .