प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली सुवास नेम्वाङलाई सभामुख बनाउने अडानबाट पछि हटेका छन्।
ओलीले मुख खोलेरै नभने पनि सभामुखको उम्मेदवारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावप्रति उनी लचक देखिएका छन्। यसपछि पूर्वमाओवादी पक्षका नेताहरूले ओली अब अडानबाट पछाडि हटेको भन्दै सभामुखको उम्मेदवारको प्रस्ताव अध्यक्ष दाहालले गर्ने खुलेरै बताउन थालेका छन्।
‘ओलीले दाहाललाई खुलेरै नभनेपनि अब सभामुखमा अडान नलिने संकेत दिइसकेका छन्, सभामुख अब पूर्वमाओवादीबाट बन्ने करिब निश्चित भएको छ’, नेकपाका एक जना सचिवालय सदस्यले भने।
पूर्वअडानबाट पछाडि हटेपछि नै ओलीले शुक्रबार प्रचण्डको उपस्थितिमा उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई बालुवाटारमा भेटेर राजिनामा दिन आग्रह गरेका हुन्। दुवै अध्यक्षले राजिनामा दिन आग्रह गरेपनि उपसभामुख तुम्बाहाम्फेले भने आफु नै सभामुखका लागि योग्य भएको दावी गरेकी थिइन्।
तर आइतबारदेखि नयाँ सभामुख चयनको बाटो खुला गर्ने गरि उनले राजिनामा दिने उच्च स्रोतहरूले जनाएका छन्।
शुक्रबार बालुवाटारमा भएको भेटघाटबारे जानकार नेकपाका अर्का एक जना नेता भन्छन्, ‘आफु सभामुख नबन्ने करिब निश्चित भएपछि उपसभामुख तुम्बाहाम्फे बालुवाटारबाट अलि रिसाएर निस्केकी छन् तर उनले संभवतः भोली नै राजिनामा दिनेछिन्।’
सभामुख कृष्णबहादुर महराले राजिनामा दिएपछि नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा ओली र दाहालबीच विवाद चर्किएको थियो। ओलीले पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए भने दाहालले पार्टी एकता गर्दाको पद बाँडफाँट सहमती अनुसार सभामुख पुनः आफुले प्रस्ताव गर्न पाउनु पर्ने अडान लिएका थिए।
राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री पूर्वएमाले पक्षबाट भएकाले सन्तुलनका लागि पनि सभामुख पूर्वमाओवादीले प्रस्ताव गर्न पाउनु पर्ने अडान दाहालले राख्दै आएका छन्। सभामुखको अडानमा सम्झौता नगर्न दाहालमाथि पूर्वमाओवादीका नेताहरूले पछिल्लो समय निकै दबाब बढाएका थिए।
खुमलटार निकट उच्च स्रोतहरूका अनुसार अध्यक्ष दाहालले सभामुखका लागि अग्नि सापकोटा वा पम्फा भुसालको नाम प्रस्ताव गर्ने छन्।
नेम्वाङलाई नै सभामुख बनाउन अन्तिम समयसम्म ओलीले अडान लिएपछि अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथा खनाल, माधव नेपाल, सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बिहीबार ललितपुरको भैंसेपाटीस्थित गौतम निवासमा छुट्टै बसेर आगामी रणनीतिबारे छलफल गरेका थिए।
नौ सदस्यीय सचिवालयका बहुमत एकापट्टी देखिएपछि ओलीले दबाब महशुस गरेको बालुवाटार सम्वद्ध स्रोतहरूले जनाएका छन्। भैंसेपाटी बैठकमा दाहालले सभामुख पूर्वएमालेले राख्ने भए प्रधानमन्त्री आफु हुनुपर्ने दावी ओलीसँग गरेको ब्रिफिङ गरेका थिए।

प्रतिक्रिया