ad ad

राजनीति


ओलीले टोपबहादुरकै गृहजिल्ला पुगेर भनेका थिए- रक्सी पिउने मान्छे एमाले हुन सक्दैन

ओलीले टोपबहादुरकै गृहजिल्ला पुगेर भनेका थिए- रक्सी पिउने मान्छे एमाले हुन सक्दैन

पक्राउ परेपछिका टोपबहादुर रायमाझी।


नेपालखबर
जेठ १, २०८० सोमबार १०:५४, काठमाडौँ

‘बेलुका बाटोमा सीधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ।’ यो अभिव्यक्ति हो- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको।

उनले पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’ का क्रममा अर्घाखाँचीको सन्धिखर्क पुगेर रक्सी खाने नेता/कार्यकर्तालाई इंगित गर्दै त्यसो भनेका थिए। 

एमाले जिल्ला कमिटीले अभियानअन्तर्गत सन्धिखर्कमा गत चैत १२ गते आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मदिरा पिउने व्यक्ति एमाले हुनै नसक्ने बताएका थिए।

मदिरा पिउने नेता–कार्यकर्तालाई सम्झाउँदै अध्यक्ष ओलीले भनेका थिए, ‘अनि मान्छेले नेता कसरी मान्न सक्छ? देख्ने मान्छेले नेता कसरी मान्छ?’ तत्कालीन समयमा कतिपयले उनको अभिव्यक्ति अर्घाखाँची नै गृहजिल्ला भएका एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझीलक्षित रहेको अड्कल पनि काटेका थिए। 

नभन्दै अहिले कस्तो संयोग परेको छ भने नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ गर्ने बेला हाल निलम्बित एमाले सचिव रायमाझी रक्सीले नै झुमिरहेको अवस्थामा फेला परे। उक्त प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि एमालेले गत वैशाख २७ गते रायमाझीलाई पार्टीबाट निलम्बन गरेको हो। 

शरणार्थी प्रकरणमा  जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि वैशाख २० देखि फरार रायमाझी आइतबार बेलुका काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन्। नेपाल प्रहरीको विशेष ब्युरोले बूढानीलकण्ठस्थित अर्घाखाँचीकै एक एमालेका कार्यकर्ताको घरमा लुकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो। जतिबेला उनी रक्सीको नशामा रहेको पुष्टि भएको छ। पक्राउपछि स्वास्थ्य जाँचका क्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीले मदिरा पिएको देखिएको हो। 

विशेष ब्युरोले पक्राउ गरेर रायमाझीलाई काठमाडौं परिसरमा बुझाएपछि परिसरबाट आइतबार राति नै स्वास्थ्य जाँचका लागि कान्तिपुर अस्पताल तीनकुने लगिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा उनले चिकित्सकलाई एक गिलास बियर खाएको जवाफ दिएका थिए।

स्वास्थ्य परीक्षणपछि उनलाई राति नै प्रहरीको सोह्रखुट्टे वृत्तमा लगिएको थियो। रायमाझी अहिले त्यहाँको हिरासतमा छन्। शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितहरुलाई छुट्टाछुट्टै हिरासतमा राखिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भने काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ। नक्कली शरणार्थी बनाएर ठगी गरेको आरोपमा अहिलेसम्म १३ जना पक्राउ परिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .