राजनीति


स्थिर सरकार नभएकाले छानबिनमा शंका छ : बाबुराम भट्टराई

स्थिर सरकार नभएकाले छानबिनमा शंका छ : बाबुराम भट्टराई

शनिबार काठमाडौंमा भएको नागरिक अगुवाहरूको भ्रष्टाचार र ढाकछोपविरुद्धको वृहत् आन्दोलनमा सहभागी हुँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई। तस्बिर सरोज नेपाल


नेपालखबर
बैशाख ३०, २०८० शनिबार १५:२८, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन्। 

शनिबार काठमाडौंको नक्सालमा भएको नागरिक अगुवाहरुको भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा सहभागी हुँदै उनले सो कुरा बताएका हुन्। 

उनले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा आधारित भइ कुनैपनि दलले बहुमत प्राप्त गर्न नसक्ने भन्दै स्थिर सरकार नहुनाले निष्पक्ष रुपमा भूटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको पनि बताए। 

‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो। सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ। हामीले खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन्। हामीले यो गर्नसके राजनीतिक शुद्धिकरण र सुशासनको दिशामा जान सकिन्छ,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कमद चाल्न सक्दैन। आशंका छ। राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा त्रुटी छ।’

उनले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु बच्न नसक्ने बताए।

आन्दोलनमा सहभागी हुन पुगेका पूर्वप्रधानमन्त्री डा. भट्टराईप्रति नागरिकहरु खुशी थिएनन्। उनीहरुले यस्ता गतिविधिमा डा. भट्टराई र उनकी धर्मपत्नी एवं पूर्वमन्त्री हिसिला यमीको पनि संलग्नता रहेको भन्दै बिरोध जनाएका थिए।

एक प्रदर्शनकारीले भने, ‘भूटानी शरणार्थी भएर बाध्यकारी अवस्था सिर्जना गर्ने भनेको बाबुराम भट्टराई र हिसिला यमीहरु हुन्। यिनीहरूको बिरुद्धमा जनता जाग्नुपर्छ।’

भुटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरुले बिरोध गर्दै आइरहेका छन्। भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणको संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो।

जसमा पूर्वगृहमन्त्री खाँण अनुसन्धनार्थ थुनामा हुनुहुन्छ भने पूर्वउपप्रधानमन्त्री रायमाझी फरार छन्। साथै सरकारले भूटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुने आश्वासन दिँदै आएको छ। नागरिकहरू भने निष्पक्ष छानबिनमा दबाब पर्नसक्ने भन्दै सडक आन्दोलनमा उत्रिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .