ad ad

राजनीति


वडाध्यक्षहरुपछि उपमेयरमाथि पनि जाइलाग्न थाले धरानका मेयर

वडाध्यक्षहरुपछि उपमेयरमाथि पनि जाइलाग्न थाले धरानका मेयर

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार ११:४७, काठमाडौँ

निर्वाचित भएदेखि वडाध्यक्षहरुसँग विवाद गर्दै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अब उपमेयर आइन्द्रविक्रम बेघाविरुद्ध पनि खनिन थालेका छन्। 

धरानमा पानी ल्याउन श्रम अभियान चलाइरहेका मेयर साम्पाङले निर्वाचित भएयता वडाध्यक्षहरुसँगको सम्बन्ध सुधार्न नसकेका उनले अब उपमेयरसँग पनि दोहोरी खेल्न थालेका हुन्। 

मेयरले अभिभावकका रुपमा वडाध्यक्षहरुसँग संवाद गरेर कार्यपालिका बैठक राख्नुपर्नेमा उनले राजीनामा माग्दै आएका छन्।

धरानमा नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरुको बाहुल्यता छन। वडाध्यक्षहरुसँग समन्वय गर्न नसकेर संघीय सरकारले पठाएको बजेटसमेत परिचालन गर्न नसकेका उनी अब नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपमेयर अइन्द्रविक्रम बेघामाथि खनिएका छन्। 

उपमेयर बेघाले अभिभावकको भूमिका निर्वाह गरेर धरानको समस्या समाधान गर्न आग्रह गरेपछि साम्पाङले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन्। 

अब वडाध्यक्षसँग भिड्दै आएका मेयर साम्पाङ उपमेयरविरुद्ध पनि सामाजिक सञ्जालमा मोर्चाबन्दीमा उत्रिएका हुन्। 

उनले मंगलबार बेघामाथि प्रहार गर्दै उपमेयरले पनि आफ्नो रङ देखाएको उल्लेख गरेका छन्। क्षण क्षणमा फेसबुक र टिकटमा देखिइरहने उनले उपमेयर र वडाध्यक्षमाथि आक्रोश पोखिरहेका छन्।

‘विचार बोकेको भए पो हुन्छ, झोला बोकेको छौ’, उनले भनेका छन्, ‘गिदी भरेको भए पो हुन्छ, लिदी भरेको छ अन्त कहाँ हुन्छ।’

उनले उपमेयरतिर लक्षित गर्दै मान्छे मारे आउनेहरुले विधि र प्रक्रिया सिकाउने भन्दै अर्को प्रश्न गरेका छन्। ‘मान्छे मारेर आउने ...हरुले मलाई विधि र प्रकृया सिकाउने? इन्द्रको अगाडि स्वर्गको बखान!’, उनले अगाडि भनेका छन्। 

त्यसपछि उनले उपमेयर बेघाले पनि रङ देखाएको भन्दै आक्रोश पोखेका छन्। स्मरणीय के छ भने वडाध्यक्षहरुले साथ नदिँदा पनि उपमेयर बेघाले मेयर साम्पाङको हरेक अभियानमा सघाउँदै आएका छन्। 

उनले मेयरको खानेपानी अभियानमा साथ दिएर आफू पाइप तान्न पनि पुग्ने गरेका छन्। तर पछिल्लो समय विकास बजेट नै खर्च नहुने अवस्था आएपछि उनले मेयरलाई वडाध्यक्षहरुसँग समन्वय गर्न सुझाएका थिए। त्यहीकारण मेयरले उपमेयरप्रति आक्रोश देखाउन थालेका हुन्। 

मेयरले आफूविरुद्ध विष वमन गर्न थालेपछि उपमेयर बेघाले एक विज्ञप्ति निकालेर वार्ता, संवाद र सहमतिको माध्यमबाट सबै खालको समस्याको समाधान गर्दै अघि बढ्न भनेका छन्। 

मेयर र वडाअध्यक्षहरुको विवादबाट उत्पन्न असमझदारीका कारण धरान अनिर्णयको बन्दी बनेको उल्लेख गर्दै बेघाले विभिन्न बहानामा एकपछि अर्को द्वन्द्व र समस्या बढ्दै गइरहेकोमा चिन्ता जनाएका छन्। 

यस्तो अवस्थामा नगर प्रमुखले अभिभावकको भूमिका निर्वाह गरि वार्ता, संवाद र सहमतिको माध्यमबाट समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्। 

उपमेयर बेघाले वडाअध्यक्षहरुले राखेको जायज मागलाई सम्बोधन गरि कार्यपालिका बैठक तुरुन्त राख्न पहल गर्न मेयरलाई भनेका छन्। 

सोमबार धरान उपमहानगरपाललिका १७ को वडा कार्यालयमा भएको घटना दुःखद भएको पनि उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .