बलिउडका चर्चित निर्देशक मधुकर भण्डारकरले अभिनेता सुशान्तसिंह राजपुतको मृत्युले फिल्म उद्योगप्रति दर्शकको आक्रोश बढेको बताएका छन्। मधुरले चाँदनी बार, फेसन, पेज ३ लगायतका थुप्रै उत्कृष्ट फिल्म बनाएका छन्। उनले सुशान्तको असामयिक निधनले दर्शकमा आक्रोश र पीडा दुवै भरिएको बताएका हुन्।

सुशान्तको मुम्बईस्थित घरमा जुन २०२० मा मृत्यु भएको थियो। प्रहरीका अनुसार सुशान्तले आत्महत्या गरेका हुन्। तर उनको मृत्युलाई आत्महत्या मान्न दर्शक राजी थिएनन्।
मधुरले मनीष पलसँग पोडकास्टमा गरेको कुराकानीमा भनेका छन्, ‘बहिष्कारको संस्कृति फिल्म उद्योगमा खासै नौलो होइन र बहिष्कारका बाबजुद मानिसहरु फिल्म हेर्न हलमा जान्छन् र सबै ठीकठाक छ।’
मधुरले अगाडि भनेका छन्, ‘मलाई लाग्छ- यो बहिष्कार संस्कृति एउटा चरण हो। फिल्म राम्रो छ र कन्टेन्ट बलियो छ भने दर्शकले पक्कै हेर्नेछन्। जनताले साउथको सुपरहिट फिल्म ‘कान्तारा’, बलिउड फिल्म ‘द कश्मीर फाइल्स’, ‘भुलभुलैया २’ हेरे र यी फिल्महरु ब्लकबस्टर पनि साबित भए।’ मधुर भण्डारकरले चलचित्र बहिष्कार गर्ने दर्शकको सानो समूह रहेको बताए। यद्यपि जनतालाई आफ्नो विचार राख्ने अधिकार रहेको उनको तर्क छ।

कुराकानीलाई अगाडि बढाउँदै निर्देशक मधुरले भनेका छन्, ‘सुशान्तसिंह राजपूतको मृत्युपछि यो बहिष्कार ठूलो मात्रामा सुरु भएको मैले देखेको छु। सायद उद्योगले उनलाई बेवास्ता गरेको होला।’
उनले थपे, ‘वास्तवमा सुशान्तसिंह राजपुत गैरफिल्मी पृष्ठभूमिका थिए र उनी धेरै संघर्ष गरेर यहाँसम्म आइपुगेका हुन्। उनको यति चाँडो मृत्यु हुनु धेरै दुर्भाग्यपूर्ण हो। उनको असामयिक निधनले जनतामा आक्रोश झनै बढाएको छ। यो जनमत हो।’
कुराकानीका क्रममा मधुरकरले भने, ‘बहिष्कारको चलन सुरु हुनुभन्दा केही वर्षअघि इमर्जेन्सीका बेला निर्माण भएको मेरो फिल्म इन्दु सरकारले केही राजनीतिक विरोधको सामना गर्नुपरेको थियो। तर, त्यतिबेला फिल्म क्षेत्रका कोही पनि मेरो साथमा थिएनन्।’
उनले अगाडि भने, ‘त्यतिबेला यो उद्योगमा मेरो कोही थिएन। फिल्मी जगत्का कोही पनि मेरो साथमा रहेनन्। अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्ने धेरैले मेरो फिल्म समस्यामा पर्दा कसैले ट्विट पनि गरेनन्। तर म सधैं अरुको फिल्मको पक्षमा छु। मलाई नराम्रो लाग्यो, म एक्लो लडाइँ लडिरहेको थिएँ, तर केही गर्न सकिनँ।’
Shares

प्रतिक्रिया