ad ad

राजनीति


रविलाई प्रधानमन्त्रीको अफरबारे ओलीको जवाफ : मैले पनि अखबारहरुमा पढेँ

रविलाई प्रधानमन्त्रीको अफरबारे ओलीको जवाफ : मैले पनि अखबारहरुमा पढेँ

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १६:५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको कुरा इन्कार गरेका छन्। 

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भएको वार्तापछि पत्रकारहरुको जिज्ञासाका क्रममा उनले रविलाई प्रधानमन्त्री प्रस्ताव गरेको कुरा अस्वीकार गरेका हुन्। 

नेपाली कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धनको विकल्पमा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने चर्चाबीच ओलीले त्यसलाई गलत भनेका हुन्। 

पत्रकारको प्रश्न थियो, ‘रवि लामिछानेसहित एमालेले गठबन्धन बनाउने कुरा चलिरहेको छ? तपाईंले प्रधानमन्त्री अफर गर्नु भएको हो?’, ओलीले जवाफमा भने, ‘मैले पनि अखबारहरुमा पढेँ, मलाई बाँकी जानकारी छैन।’ 

नेकपा एमालेले गत पुस १० गते बनाएको सात दलीय गठबन्धनमा रास्वपा पनि मिसिएको थियो। तर यो गठबन्धन नभत्किँदै गत माघ १३ गते रविले नागरिकता विवादमा पद गुमाएपछि रास्वपाले माघ २२ गते सरकार छाडेको थियो।

यद्यपि रास्वपाले अहिले पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिइरहेको छ। 

प्रधानमन्त्रीसँग रविले साविककै मन्त्रालय मागेको चर्चाबीच बुधबार मन्त्रिपरिषद् विस्तार भएको छ। प्रचण्डले कांग्रेसका तीन नेतालाई मन्त्री बनाएसँगै रविको सरकारमा पुनरागमन सम्भावना करिब सक्किएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .