ad ad

राजनीति


चुनाव जित्न उपेन्द्रलाई फापिरहेको ‘प्रचण्ड-कला’

चुनाव जित्न उपेन्द्रलाई फापिरहेको ‘प्रचण्ड-कला’

नेपालखबर
बैशाख १३, २०८० बुधबार ६:५७, काठमाडौँ

मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबैजसो राष्ट्रिय पार्टीका अध्यक्ष विजयी हुँदा हार भोग्ने एकमात्र नेता थिए– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव। सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएपछि २०६४ यता पहिलोपटक (आम निर्वाचन–२०७९) यादवको संसद्‌मा पुग्ने सपनामा ‘ब्रेक’ लागेको थियो। 

तर, पराजयको ६ महिना नबित्दै यादवले पुनः प्रतिनिधि सभाको यात्रा तय गर्ने सौभाग्य प्राप्त गरेका छन्। आम निर्वाचनमा सप्तरी–२ बाट पराजित यादव यही वैशाख १० गते बारा– २ मा भएको उपनिर्वाचनमा जनमत पार्टीकै उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई हराएर प्रतिनिधि सभाको सदस्य बन्न सफल भएका हुन्। गत मंसिर ४ काे चुनावमा उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जसपाकै नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि अध्यक्ष यादवले ५ महिनापछि नै पुन: चुनाव लड्ने अवसर पाएका हुन्।  

मंगलबार राति सार्वजनिक मतगणनाको अन्तिम परिणामअनुसार विजयी यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कुशवाहाले २३ हजार ३ सय ३४ ल्याएका छन्।  

उपचुनावमा विजयी भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को शैली पछ्याउँदा आम निर्वाचनमा पराजयका बाबजुद यादवलाई प्रतिनिधि सभामा प्रवेश गर्ने मौका जुरेको हो। यादवले पछ्याएको प्रचण्डको त्यो शैली हो– प्रत्येक चुनावमा क्षेत्र परिवर्तन।

यादव २०६४ मा भएको पहिलो संविधान सभा सदस्य निर्वाचनमा मोरङ–५ र सुनसरी–५ गरी दुई क्षेत्रबाट निर्वाचित भएका थिए। तर, २०७० को निर्वाचनसम्म पुग्दा यी दुवै क्षेत्र अनुकूल नदेखिएपछि प्रचण्डले जस्तै यादवले पनि निर्वाचन क्षेत्र परिवर्तन गर्न थाले। 

प्रचण्ड पनि पहिलो संविधान सभा सदस्य निर्वाचनमा रोल्पा–१ र काठमाडौँ–१० गरी दुई क्षेत्रबाट निर्वाचित भएका थिए। तर २०७० मा भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा काठमाडौँ–१० का अलावा सिरहा–५ रोजे। त्यो निर्वाचनमा प्रचण्ड काठमाडौँ–१० मा तेस्रो स्थानमा पुगेर पराजित भए। सिरहा–५ मा निकै कठिनसाथ जित हात लाग्यो। 

दोस्रो संविधान सभा सदस्य निर्वाचनका क्रममा निर्वाचन क्षेत्र परिवर्तन गर्न थालेका प्रचण्डले २०७४ को निर्वाचनमा फेरि क्षेत्र परिवर्तन गरेर चितवन–३ बाट प्रतिस्पर्धा गरे। त्यो निर्वाचनमा विजयी भए पनि यसपटक (२०७९) चितवन–३ असुरक्षित रहेको बुझेपछि उनले पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईको परम्परागत चुनाव क्षेत्र गोर्खा–२ रोजे। र, विजयी भए। 

जसपा अध्यक्ष यादवले पनि फोरममा आएको विभाजनका कारण २०७० मा जब मोरङ–५ प्रतिकूल देखे, सुनसरी–५ बाट मात्रै प्रतिस्पर्धा गर्ने निर्णयमा पुगे। त्यो निर्वाचनमा उनी विजयी त भए। तर, झिनो अन्तरले मात्र उनको दोस्रो संविधान सभाको यात्रा तय हुन सक्यो।

दोस्रो संविधान सभा सदस्य निर्वाचनमा कठिनसाथ प्राप्त विजयले २०७४ को आम निर्वाचनमा यादवलाई अलिक सुरक्षित क्षेत्र खोज्नुपर्ने बाध्यता सिर्जना गर्‍यो। त्यसै क्रममा उनी सप्तरी–२ रोज्न पुगेका थिए। यादवको बाहुल्य र फोरमको संगठन बलियो रहेकाले उनी मोरङ र सुनसरी छाडेर सप्तरी–२ पुगेका थिए। 

२०७४ मा प्रचण्डलाई जस्तै यादवलाई पनि क्षेत्र परिवर्तनले लाभ मिल्यो। वाम गठबन्धनका बीच पनि उनी २०७४ को आम निर्वाचनमा सप्तरी–२ मा भारी मतान्तरका साथ विजयी भए। फोरमको संगठन, यादव बहुलता र मधेशी दलहरुबीचको एकताका कारण यादवलाई सप्तरी–२ मा सफलता मिलेको थियो।

तर, पाँच वर्ष बित्दा नबित्दै सप्तरी– २ को माहोल अध्यक्ष यादवका लागि प्रतिकूल बन्न पुग्यो। गत आम निर्वाचनमा यादवलाई सोही क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सीके राउतले चुनौती दिए। प्रतिस्पर्धामा राउतले बाजी मारे। २०६४ को निर्वाचनयता यादव पहिलोपटक संसदीय निर्वाचनमा पराजित हुनुपर्‍यो। 

संसद्‌को यही कार्यकालमा प्रतिनिधि सभामा छिर्ने हो भने यादवका लागि क्षेत्र परिवर्तन गर्नेबाहेक अर्काे विकल्प थिएन। यसका लागि जसपा उम्मेदवार विजयी भएको प्रत्यक्षतर्फको प्रतिनिधि सभाको कुनै सिट खाली गराउनुपर्थ्यो। त्यसपछि त्यहाँ हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गरेरमात्र उनले संसद्को यात्रा तय गर्न सक्थे।

त्यसका लागि उनले पार्टी नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति निर्वाचनको प्रतिस्पर्धामा उतारे। सत्ता गठबन्धनको साथ रहेकाले यादव उपराष्ट्रपतिमा विजयी भए। जसका कारण बारा–२ निर्वाचन क्षेत्र खाली हुन पुग्यो। योजनामुताबिक नै यसअघि सप्तरी–२ मा पराजित यादव बारा–२ मा प्रतिस्पर्धा गर्न आइपुगे।

निरन्तर क्षेत्र परिवर्तन गरेर प्रचण्डले संसद्को यात्रा सुरक्षित गरेजस्तै यादवले पनि सोही उपायमार्फत यसपटक पनि प्रतिनिधि सभाको यात्रा सुनिश्चित गरेका छन्। सप्तरी– २ मा आफूलाई पराजित गरेका जनमत पार्टीका अध्यक्ष राउतको कडा मिहिनेतका बाबजुद सो पार्टीका उम्मेदवार कुशवाहा पराजित हुन पुगेका छन्।

आगामी निर्वाचनमा उम्मेदवार बन्ने भए भने सम्भवतः प्रचण्डले गोर्खा–२ दोहोर्‍याउने छैनन्, अर्कै सुरक्षित क्षेत्र रोज्नेछन्। र, यादवले पनि चुनाव जित्न प्रचण्डले अपनाउने यो शैली आगामी निर्वाचनमा पनि पछ्याउने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .