ad ad

राजनीति


सीके राउतपछि एमाले उम्मेदवार पौडेलले भने : बारा २ का ठाउँ ठाउँमा धाँधली भयो

सीके राउतपछि एमाले उम्मेदवार पौडेलले भने : बारा २ का ठाउँ ठाउँमा धाँधली भयो

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८० आइतबार १३:५२, काठमाडौँ

बारा क्षेत्र नम्बर २ मा नेपका एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधली गरिरहेको बताएका छन्। 

प्रहरी प्रशासनकै मिलेमतोमा एकपक्षीय मतदान गराएको भन्दै उनले त्यस्ता गतिविधि रोक्न माग गरेका हुन्।

पौडेलले ठाउँ ठाउँमा मतदाता रोक्ने काम भएको भन्दै आपत्ति जनाएका छन्।

बारा २ का इनरवा, सनफुलवा, सिँचाइ बुथ लगायतमा प्रहरीका सई र असई नै गठवन्धनको पक्षमा मतदान गराउन लागेको उनले आरोप लगाएका छन्। 

अहिले बुथ कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुप देखिएको उनको गुनासो छ।

‘ठाउँ ठाउँमा मतदाता रोक्ने, इनरवा, सनफुलवा, सिँचाइ बुथ लगायतमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुई मत खसाउने जस्ता धाँधलीका रुप नाङ्गो रुपमा देखिएका छन्’, पौडेलले भनेका छन्, ‘यसले स्वच्छ निर्वाचन गराउने गठबन्धन सरकारको स्वरुप उदांगो बनाएको छ। म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछु।’

यसअघि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि बारा २ का ठाउँ ठाउँमा सत्ता गठबन्धन बुथ कब्जा र धाँधलीमा उत्रिएको आरोप लगाएका थिए। 

उनले खासगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव नै निर्वाचन आचारसंहिताविपरीत मतदान केन्द्रमै पसेको आरोप पनि उनले लगाएका थिए। 

'बारा २ को उपचुनावमा धाँधली भइरहेको छ। पचतरौताको बेलडारी बुथमा हाम्रा कार्यकर्तालाई जसपाका कार्यकर्ताले छिर्न दिएका छैनन्', उनले भनेका थिए, 'देवतालको छिटकैया बुथमा पनि त्यस्तै छ। त्यहाँ इच्छाइएको व्यक्तिले अरुको मतदान गर्न पाउने भनिएको थियो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .