ad ad

राजनीति


सरकारले महाविपत्ति आएको सोच्नुपर्‍यो, त्यसपछि परिणाम आउँछ : गगन थापा

सरकारले महाविपत्ति आएको सोच्नुपर्‍यो, त्यसपछि परिणाम आउँछ : गगन थापा

नेपालखबर
बैशाख २, २०८० शनिबार १७:१, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन्। 

महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन्।

नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महशुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे।

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस्। चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस्। चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस्। उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ,’ महामन्त्री थापाले भने, ‘संकटको बेला छ। युद्धको बेलामा जस्तो सोच्ने हुनुपर्दछ। उसलाई भ्याईनभ्याई हुनुपर्दछ। त्यो अप्ठ्यारो उसले महशुस गर्न सक्नुपर्दछ। अनिमात्रै परिणाम दिन सकिन्छ।’

महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराएका छन्। 

सरकारले राम्रो काम गर्दै गए ३/४ महिनाभित्रै मुलुक सम्हालिँदै जाने थापाको भनाई थियो। 

‘काँग्रेस सरकारमा छ। तपाई हामी सबैले मेहनत गरेर निर्वाचित भएर प्रदेशको सरकारमा, संघको सरकारमा पुगेका छौं। यहाँ बसेर हामीले परिणाम दिने हो। यसमा हामीले ठिक ढंगले काम गर्न सक्यौ भने अबको ३/४ महिना भित्रमा फेरी देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन ,’ थापाले अघि भने, ‘स्थिति ठिक छैन, असहज छ। राम्रोसँग सम्हालेनौ भने बिग्रदै जान्छ । ठिक ढंगले सुझबुझपूर्ण ढंगले सम्हाल्दै गयौ भने फेरी सम्हालिँदै जान्छ।’

महामन्त्री थापाले २०८० सालमा नेपाली कांग्रेसलाई सुद्धिकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि सुझाए। 

२०८० सालको जेष्ठ अन्तिम साता नेपाली कांग्रेसको नीति अधिवेशन हुने तयारी भईरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदुढीकरण र सुद्धिकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरे। 

‘मेरो खाली तपाईहरुलाई यति मात्रै आग्रह हो–कि अहिले पुरानो जति सडेगलेको, नयाँ जति राम्रो भन्ने भ्रमपूर्ण नाराका साथमा जुन खालको गिजोल्ने प्रयास नेपालको राजनीति र नेपाली समाजमा भईरहेको छ,’ उनले भने, ‘त्यसको प्रभाव मकवानपुर कांग्रेसलाई नपरोस्। त्यसको प्रभाव नपर्नका निम्ति हाम्रा बीचमा भएका बेमेलहरुलाई हटाएर सबै वडा, प्रदेश, क्षेत्रीय, जिल्ला सम्मेलन गर्नुपर्‍यो।’

महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए।

‘भातृ संस्था सबैलाई सम्मेलन गरेर सबैलाई सुदृढ बनाएर पार्टी भित्र बन्द कोठामा बसेर, छलफल गरेर बाहिरका मानिसहरुलाई हाम्रो पार्टीमा खेल्न नदिनका लागि हाम्रो पार्टीलाई सुदृढ बनाएर, एक ढिक्का बनाउनु पर्छ,’ उनले भने, ‘२०८० साललाई निर्वाचन प्रणालीमा सुधारका लागि बहस सुरु गरौं। हामी जेष्ठको अन्तिम साता दिन कांग्रेसको नीति सम्मेलन गर्ने तयारी गर्दैछौं। त्यसमा व्यापक रुपमा छलफल गरौं। र, यो साललाई कांग्रेसको सुद्धिकरण र कांग्रेसको सुदृढीकरणको लागि प्रयोग गरौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .