राजनीति


गुठी विधेयकमाथि छलफल

गुठी विधेयकमाथि छलफल

नेपालखबर
पुस २१, २०७६ सोमबार १५:२५,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठी संस्थानले गुठीको संरक्षण गर्न नसकेको गुनासो चौतर्फीरुपमा आएपछि प्राधिकरण अगाडि बढाइएको बताएकी छन्।

मन्त्रालयले आज आयोजना गरेको गुठी विधेयकसम्बन्धी सरोकारवाला गुठियार, गुठी विधेयकविरुद्धको सङ्घर्ष समितिसँग अन्तक्र्रिया कार्यक्रममा उनले गुठीको धर्म, संस्कृति, प्रथा, परम्पराको संरक्षण सरकारले गर्ने बताइन् मन्त्री अर्यालले गुठीलाई राम्रो बनाउन मन्त्रालयले सरोकारवालाबीचमा छलफल गरेको जानकारी गराइन्।

देशभर विभिन्न प्रकृतिका गुठी रहेकाले तिनका समस्या पनि फरकफरक रहेका उनले बताइन्। गुठीको मर्म, भावनालाई संरक्षण गर्न मन्त्रालयले अहिले पवित्र भावनाका साथ गुठीसम्बन्धी कानून राम्रो बनाउन लागेको उनको भनाइ छ। धर्म, संस्कृति, प्रथा, परम्परासम्बन्धी गुठी, जग्गासम्बन्धी गुठीको व्यवस्थापन कसरी गर्ने तथा अतिक्रमणमा परेका जग्गाको संरक्षण कसरी गर्ने भन्ने कुरा फरकफरक ढङ्गले हेरिनुपर्ने उनले बताइन्।

मन्त्री अर्यालले उपत्यकाकै प्रमुख स्थानका बहुमूल्य जग्गा अतिक्रमण भएका खबर आएकाले त्यसको छानबिन भइरहेको जानकारी गराइन्। उपत्यकाका गुठीको संरक्षणसँगै अतिक्रमण भएका जग्गाको संरक्षण कसरी गर्ने भन्नेतर्फ पनि ध्यान दिन उनले आग्रह गरिन्। देशभर १३९ विघा गुठीको जमिन अतिक्रमण भएको उनको भनाइ छ। उनले भनिन्, ‘मन्त्रालय त्यसको संरक्षणको अभियानमा लागेको छ।’

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौँ उपत्यकाका नेवार समुदायसँग जोडिएको प्रथा, परम्परा, संस्कृतिसँग जोडिएको गुठी संरक्षण गर्न विशेष ध्यान दिनुपर्ने बताए। संस्कृतिसँग जोडिएको गुठी र जग्गाको विशेषतालाई फरकफरक ढङ्गले सम्बोधन गरिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘नेवार समुदायको परम्परागत संस्कृति र जग्गाको प्रकृति फरक छ।’

गुठी विधेयकविरुद्धको संयुक्त सङ्घर्ष समितिका संयोजक डा महेशमान शाक्यले नेपालमण्डल र वरिपरिका आदिवासी नेवारको प्रचलित प्रथाजन्य संस्था गुठीलाई स्वायत्तता दिनुपर्ने बताए। ज्यापु महागुठी नेपालका अध्यक्ष राजभाई जकमीले उपत्यकाको गुठीको छुट्टै भावना रहेको बताए। राष्ट्रिय पहिचान सङ्घर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले गुठीसम्बन्धी कानून बनाउन सहयोग गरिने तर जसका निम्ति कानून बनाउन लागेको हो ती समुदायको मर्म समेटिनुपर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .