नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज (सोमबार) काठमाडौंमा जिल्ला सभापतिहरूको भेला गर्दै छ।
सभापति देउवाले पार्टीमा एकपक्षीय रूपमा निर्णय गरेको भन्दै असतुष्ट भएको पक्षले पार्टीका जिल्ला सभापतिहरूको भेला बोलाएको हो।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अहिले बिहान ११ बजे गर्ने तय गरिएको भेलामा पूर्वमहामन्त्री कृष्ण सिटौलाकाे समूह पनि सामेल हुने भएको कांग्रेस स्रोतले जनाएको छ। तर सिटौला हाल धनकुटामा छन्। उनी भेलामा आइपुग्छन् कि आइपुग्दैनन्, निश्चित छैन।
सभापति देउवाले गत पुस ११ गते बहुमतको बलमा केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय गरेपछि पौडेल-सिटौला पक्ष विराेधमा उत्रिएका हुन्।
इतिहासमै पहिलोपटक बहुमतबाट महाधिवेशनको कार्यतालिका तोक्दै विधान निलम्बन गरेर गलत नजिर बसाएको उनीहरूकाे आरोप छ।
पुस ११ गते देउवाले गराएकाे निर्णय सच्याउनुपर्ने माग पौडेल-सिटौला पक्षको छ। त्यही निर्णयविरुद्ध दबाब दिन उनीहरूले जिल्ला सभापतिहरूको भेला डाकेका हुन्।
पौडेल र सिटौला पक्षमा ४० भन्दा बढी जिल्लाका पार्टी सभापति छन्। उनीहरूले गर्ने निर्णयले देउवालाई ठूलो दबाब पर्ने असन्तुष्ट पक्षको दाबी छ।

प्रतिक्रिया