राजनीति


राप्रपा प्रवक्ता भन्छन्– सरकारको न्युनतम साझा कार्यक्रम ‘कागजी घोडा’मात्रै हो

राप्रपा प्रवक्ता भन्छन्– सरकारको न्युनतम साझा कार्यक्रम ‘कागजी घोडा’मात्रै हो

नेपालखबर
चैत २४, २०७९ शुक्रबार ८:३०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम अपूर्ण र भ्रम छर्ने खालको ‘क्वाँटी’ दस्तावेज भएको टिप्पणी गरेका छन्। 

बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसहितको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको प्रवक्ता श्रेष्ठले बताएका छन्। 

‘अकारण अघिल्लो सत्ता गठबन्धन बदलेर अस्थिरताको मार्गतर्फ अघि बढेको प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम समस्याको पहिचान गर्न असफल, यथास्थितिमा बदलाव ल्याउन अपूर्ण, भ्रम छर्ने खालको र भागवण्डाको कार्यक्रमको रुपमा मात्रै सीमित रहने 'क्वाँटी'दस्तावेज हो,’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम मार्फत जनतामा आशा, विश्वास र भरोसा पैदा गर्न सकेन।’ 

अघिल्लो गठबन्धनका कतिपय सकारात्मक विषयलाई पनि पूर्वाग्रही ढंगबाट उपेक्षा गरिएको उनले टिप्पणी गरेका छन्। 

राप्रपाले भ्रष्टाचारको विषयलाई कडाइ र प्राथमिकताका साथ उठाए पनि सरकरले ‘कदम चाल्ने’ मात्रै भनेर सामान्यीकरण गरेको भन्दै प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका छन्। 

‘साझा कार्यक्रममा उल्लेखित कतिपय विषय कार्यान्वयन हुनेमा आशंका छ जसबाट यो साझा कार्यक्रम केवल ‘कागजी घोडा’मात्रै हुने ठोकुवा गर्न सकिन्छ।’ प्रवक्ता श्रेष्ठले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad