ad ad

राजनीति


गृहमन्त्रीले यी ४ बिषयमा गर्दैछन् चिनियाँ समकक्षीसँग छलफल

गृहमन्त्रीले यी ४ बिषयमा गर्दैछन् चिनियाँ समकक्षीसँग छलफल

दीपक खरेल
पुस २०, २०७६ आइतबार ९:२१,

नेपालमा बसेर चीनबिरुद्ध साईबर अपराध गरेको कसुरमा १ सय २२ चिनियाँ नागरिक नेपाल प्रहरीको हिरासतमैं रहेका बेला गृहमन्त्री रामबहादुर थापा नेतृत्वको उच्चस्तरीय भ्रमण टोली आईतबार साँझ चीन पुग्दैछ।

चीनले नेपालको हिरासतमा रहेका आफ्ना नागरिकहरुलाई आईतबार चार्टर्ड विमानमा लैजाने तयारी गरे पनि ‘प्राविधिक कारणले’ यो रोकिएको छ। गृहमन्त्री थापाको चीन भ्रमणका बेला यो सन्दर्भ पनि छलफलको एउटा बिषय बन्नेछ।

नेपाल प्रहरीको हिरासतमा रहेका १ सय २२ जनालाई चीन फिर्ता पठाउने बिषयमा दुई देशका उच्च अधिकारीबीच छलफल भइरहेकै बेला भएको गृहमन्त्री थापाको भ्रमण अर्थपूर्ण मानिएको छ।

यसबाहेक नेपाल–चीनबीचको सुपुर्दगी सन्धी र नेपाली भूमिबाट चिनियाँ र तिब्बती नागरिक मार्फत चीनबिरुद्ध हुने गतिविधी र सीमा व्यवस्थापन तथा अपराध नियन्त्रणबारे रहेका दुबै देशका चासोका सम्बन्धमा छलफल हुनेछ।

चीन भ्रमणमा गृहमन्त्री थापाले मुख्य ४ बिषयमा आफ्ना समकक्षीसँग छलफल गर्ने तय भएको छ।

चीनका पब्लिक सेक्युरिटी मन्त्री झाउ केझीसँग सोमबार बिहान हुने औपचारिक भेटवार्तामा सीमा व्यवस्थापन, नेपाल–चीन सुपुर्दगी सन्धीमा हस्ताक्षरको मिती तय, नेपालमा रहेका तिब्बती शरणार्थी र नेपालमा पक्राउ परेका चिनियाँहरुका बिषयमा छलफल हुनेछ। यसबाहेक दुई देशको हितमा सीमा सुरक्षा र सहयोग बढाउने बिषयमा समेत छलफल हुनेछ।

यस्तै भेटमा नेपालका सुरक्षा निकायलाइ भाैतिक सहयाेग तथा अधिकारीहरूलाइ उच्च स्तरीय तालिमकाे बिषयमा समेत छलफल हुनेछ। 

गृहमन्त्री थापा र उनका चिनियाँ समकक्षी जनसुरक्षा (पब्लिक सेक्युरिटी) मन्त्री झाउसँग सोमबारको भेटमा नेपाल–चीनबीच सुपुर्दगी सन्धीको बिषयमा छलफल हुनेछ।

यो भेटमा नेपालमा रहेका तिब्बती शरणार्थी र चीनबिरुद्ध नेपाली भूमिबाट हुने गतिविधी नियन्त्रण र नेपालमा दुई साताअघि पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकका बिषयमा कुराकानी हुने गृह उच्चस्रोतले जनाएको छ।

‘यो सद्भावना भ्रमण हो,’ गृहसचिव प्रेमकुमार राईले नेपालखबरसँग भने ‘कुनै सन्धी सम्झौतामा हस्ताक्षर हुँदैन, समग्र बिषयमा समकक्षीसँग छलफल हुनेछ।’

चीनको भ्रमणका लागि आईतबार त्यसतर्फ प्रस्थान गर्नुअघि गृहमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लै भेटेका थिए।

सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच एकघण्टा लामो कुराकानी भएको थियो। सो भेटमा प्रधानमन्त्री र गृहमन्त्री मात्रै थिए।

गृह उच्चस्रोतले प्रधानमन्त्री ओलीबाट गृहमन्त्रीलाई केही विशेष निर्देशन भए बाहेक अन्य औपचारिक एजेण्डा तोकिएको छैन। तर चीनमा हुने महत्वपुर्ण भेटघाटमा समसामयिक बिषयमा समकक्षीसँग वार्ता हुनेछ।

‘केही प्रमुख बिषय जुन चर्चामा छन् त्यसबारे छलफल हुनेछ,’ स्रोतले नेपालखबरसँग भन्यो ‘अन्य बिषय भेटमै तय हुनेछ।’

चिनियाँ जनसुरक्षा मन्त्रालयको निमन्त्रणमा गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि आइतबार बिहान बेइजिङतर्फ प्रस्थान गरेका हुन्।

भ्रमण क्रममा उनले चीनका जनसुरक्षा मन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।

भ्रमण टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा र नेपाल प्रहरीका डीआईजी सूर्यप्रसाद उपाध्यायलगायत छन्।

गृहमन्त्री थापा नेतृत्वको टोलीले चीनको बेइजिङ, सांघाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .