राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले धनगढीका स्वास्थ्यकर्मीले विगत ६ महिनादेखि तलब नपाएको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा धारणा राख्दै केसीले ‘संघीय प्रणाली भएपछि कर्मचारीलाई तलब नदिए पनि हुन्छ कि?’ भनी व्यंग्य पनि गरे।
केसीले भने, ‘धनगढी उपमहानगरपालिकामा ५४ जना स्वास्थ्य कर्मचारीहरु छन्। केन्द्रले खटाएका उनीहरुले ६ महिना भयो तलबै पाएका छैनन्। खटाउनेले तलब खाएर उहाँहरुलाई खटाइ रहेको हो कि के हो? यो संघीय प्रणाली भएपछि कर्मचारीलाई तलब नदिए पनि हुन्छ कि? यसकारणले सम्माननीय सभामुखमार्फत ती ६ महिनादेखि बिना तलब दुःख कष्ट भोगिरहेका कर्मचारीहरुलाई यथासिघ्र सरकारले तलब भुक्तानी गरोस्।’
धनगढी उपमहानगरपालिका अन्तर्गत कार्यरत ५५ जना स्वास्थ्यकर्मीले विगत ६ महिनादेखि तलब नपाएको भन्दै गएको आइतबारदेखि आन्दोलन सुरु गरेका छन्।
उनीहरुले उपमहानगरपालिकाको प्राङणमा भेला भइ हातमा कालोपट्टि बाँधेर धर्ना सुरु गरेका हुन्।
प्रतिक्रिया