ad ad

राजनीति


अमृतपालको अन्तिम लोकेसन नेपाल, आत्मसमर्पणका लागि राखे तीन सर्त

पन्जावकै जेलमा थुन्न आग्रह
अमृतपालको अन्तिम लोकेसन नेपाल, आत्मसमर्पणका लागि राखे तीन सर्त

गोकुल जोशी
चैत १५, २०७९ बुधबार १९:३७, कंचनपुर

स्वतन्त्र खालिस्तान राज्यको माग गर्दै आएका भारत पन्जाबका अमृतपाल सिंह आत्मसमर्पण गर्न तयार रहेको खबर बाहिरिएको छ। तर उनले त्यसका लागि सरकारसँग तीनवटा माग राखेका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार प्रहरी हिरासतमा कुटपिट नगर्न, पन्जावकै जेलमा राख्ने व्यवस्था मिलाउन र आत्मसमर्पणलाई पक्राउ नभन्न उनले सर्त राखेका हुन्।

उनी १८ मार्चबाट फरार छन्। सिंह भारतीय प्रहरीका लागि ठूलो टाउको दुखाई बनेका छन्। 

पन्जाबमा मात्र होइन्, उनको खोजी नेपालसँग सीमा जोडिएको भारत उत्तराखण्डको उद्यमसिंहनगर र पिथौरागढसम्म भइरहेको छ।

नेपालस्थित भारतीय राजदूतावासले त नेपालमै हुनसक्ने आशंका गर्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको सार्वजनिक भइसकेको छ।

उनी नेपाल भएर विदेश उड्न सक्ने भन्दै सहयोगको आग्रहसमेत गरिएको छ।

पछिल्लो खबर अनुसार ‘वारिस पन्जाब दे’ का मुख्य कमाण्डर सिंह पन्जाबमै आएर आत्मसमर्पण गर्न चाहन्छन्।

उनी अमृतसरमा रहेको गोल्डन टेम्पलको श्री अकाल तख्त साहिब वा बठिंडाको तलवंडी साहिबस्थित तख्त श्री दमदमा साहिबमा आएर आत्मसमर्पण गर्न सक्ने आकलन भारतीय प्रहरीले गरेको छ।

प्रहरीले यी दुवै स्थानमा सुरक्षा व्यवस्था कडा पारेको छ। दुवै सहरहरुमा नाकाबन्दी गरेर सवारीसाधनहरुको सघन जाँच गरिरहेको छ।
केही धार्मिक नेताहरु उनको आत्मसमर्पणमा मध्यस्थता गरिरहेको खबर पनि बाहिरिएको छ।

पन्जाबको खुफिया एजेन्सीले भने सिंहको अन्तिम लोकेसन नेपालमा भएको दाबी गरेको छ। प्रहरीको टोली पुगिसकेको र नेपाल प्रहरीको सहयोगमा केही स्थानमा छापा मारेको दाबी पनि गरिएको छ।

भारत सरकारको अनुरोधमा नेपाल भित्रिने र बाहिरिने नाका, होटल र प्रहरी चौकीहरुमा सिंहको हुलिया पठाइएको बताइएको छ।
सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम रहेको थियो।

भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन। विभिन्न देशमा भने पृथकतावादी अभियानका समर्थन रहेका थिए।

३० वर्षीय अमृतपाल सिंहले भारतभित्र खालिस्तानी पृथकतावादी अभियान पुनः जगाउने अभियान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ।

त्यसलगत्तै विभिन्न देशमा खलिस्तान समर्थकहरुको गतिविधि पनि बढेको छ।

यसै साता बेलायतस्थित भारतीय दूतावासमा खालिस्तान समर्थकहरुले भारतीय झण्डा निकालेर खालिस्तानको झण्डा फहराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .