ad ad

राजनीति


बारा २ मा पनि उपेन्द्रको चुनौती सीके राउत, बलिया प्रतिस्पर्धी शिवचन्द्रलाई अघि सारे

जो रामसहाय यादवसँग झिनो मतले हारेका थिए
बारा २ मा पनि उपेन्द्रको चुनौती सीके राउत, बलिया प्रतिस्पर्धी शिवचन्द्रलाई अघि सारे

फाइल तस्बिर


जयन्त ठाकुर
चैत १५, २०७९ बुधबार १८:२७, जनकपुरधाम

नेकपा माओवादी केन्द्र परित्याग गरेर शिवचन्द्र कुशवाहा डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्।

मंसिर ४ मा पराजित उनी बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यले जनमत पार्टीमा प्रवेश गरेका हुन्। 

मंसिरको प्रतिनिधिसभा निर्वाचनमा नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवबाट झिनो मतान्तरले पराजित भएका कुशवाहाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्नकै लागि जनमतमा प्रवेश गरेको बताए। 

जसपा अध्यक्ष यादव बारा २ बाट उपनिर्वाचन लड्ने लगभग निश्चित हुँदा कुशवाहा जनमत पार्टी प्रवेश गरेर त्यहाँको उपनिर्वाचनलाई थप रोचक बनाएका छन्।

मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी २ मा जनमतका अध्यक्ष डा. सीके राउतसँग पराजित अध्यक्ष यादव प्रतिनिधिसभा प्रवेश गर्ने उद्देश्यले नै त्यहाँबाट प्रतिनिधिसभामा पुगेका रामसहायलाई गठबन्धनमा आवद्ध दलहरुमा दबाब बनाएर उपराष्ट्रपतिमा निर्वाचित गराए। 

त्यहाँबाट उपनिर्वाचनमा सहज जित निकाल्ने सोचेका जसपा अध्यक्ष यादवलाई कुशवाहाको जनमत प्रवेशले चुनौती खडा गरिदिएको छ।

बारा–२ मा गत मंसिर ४ मा भएको निर्वाचनमा माओवादीबाट उम्मेदवार रहेका कुशवाहा ३५४ मतान्तरले रामसहायसँग पराजित भएका थिए। 

रामसहायले १३ हजार ८सय २२ मत ल्याएर जित निकालेका थिए। कुशवाहा १३ हजार ४सय ६८ मत प्राप्त गरेका थिए।

त्यही निर्वाचन क्षेत्रमा जसपाबाट बागी उम्म्दवारी दिएका रामकिशोर यादव ११ हजार ४३ मत ल्याएर तेस्रो स्थानमा थिए। 

कुशवाहा अध्यक्ष यादवका लागि टाउको दुखाइ बन्न आउँदा रामकिशोर जसपामै फर्किएर केही राहत दिएको राजनीति विश्लेषकहरु बताउँछन्। 

रामकिशोरलाई जसपामै फर्काउन मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा २ को प्रदेशसभा सदस्य तर्फ (क) र (ख) दुवैमा जसपा उम्मेदवारहरु शारदा शंकरप्रसाद कलवार र बच्चा राउत अहिर निर्वाचित भएका थिए। 

पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर जितेका शारदा शंकरप्रसाद कलवार फेरि जसपामै फर्किएका छन्। 

बारा २ अन्तर्गत प्रदेशसभाका दुवै सिटमा जसपाले जित निकालेकाले उपनिर्वाचनमा पनि अनुकलु नतिजा आउने जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले दावी गरे। 

सप्तरी २ मा पराजित भएसँगै उपेन्द्रले बारा २ बाट उपनिर्वाचन लड्ने गरी तयारी थालेको त्यहाँका नेता कार्यकर्ताहरु बताउँछन्। 

बारा २मा आफ्नो उपस्थिति मजबुत बनाउने उद्देश्यले उपेन्द्रले मधेश प्रदेशको मुख्यमन्त्री बाराबाटै निर्वाचित सरोज यादवलाई बनाए। बारा २ बाट निर्वाचित रासहायलाई उपराष्टपति बनाइएको छ।

त्यहाँका जनता र जसपाका नेता कार्यकर्ताहरुले खुलेर सहयोग गर्ने मनसायले उपेन्द्रले पहिलेदेखि नै यी कदम उठाएका राजनीतिक विश्लेषकहरुको दाबी छ।     

यता सप्तरी २ मा जनमतका अध्यक्ष राउतबाट पराजित भएसँगै अध्यक्ष यादवको सम्बन्ध चिसिएको थियो। 

१० दलीय सत्तारुढ गठबन्धनमै रहे पनि यी दुई नेताबीचको सम्बन्ध ठीक चलिरहेको छैन। 

जसको असर उपराष्ट्रपति निर्वाचनमासमेत देखियो। उपराष्ट्रपतिको निर्वाचनमा जसपाले रामसहाय यादवलाई उम्मेदवार बनाउँदा जनमतले ममता झालाई अघि सारेको थियो। 

रामसहाय उपराष्टपतिमा निर्वाचित भएसँगै उपनिर्वाचनमा निर्वाचन लड्ने तयारी गरेका अध्यक्ष यादवविरुद्ध सशक्त उम्मेदवार खडा गर्ने रणनीतिमा जनमत थियो। 

कुशवाहा जनमतमा प्रवेश गरेसँगै राउतले सशक्त उम्मेदवार भेट्टाएको जनमतका नेताहरु बताउँछन्।     

गत निर्वाचनमा माओवादी उम्मेदवार रहेका कुशवाहालाई तत्कालीन ५ दलिय गठबन्धनको सहयोग थियो। उता रामसहायलाई एमालेले सघाएको थियो। 

तर कुशवाहालाई ५ दलीय गठबन्धनको सहयोग  हुँदा पनि जित निकाल्न सकेका थिएनन्। 

'निर्वाचनमा नाम मात्रैको गठबन्धन हुन्छ', जनमतमा प्रवेश गरेका कुशवाहाले भने ‘गठबन्धनको हिसाबले मत पर्दैन, अहिले पनि गठबन्धन ठिक चलिरहेको छैन। बारा २ का जनताकै इच्छाअनुसार जनमतमा प्रवेश गरेको छु।’

बारामा पनि उपेन्द्रको अवस्था सप्तरीको जस्तै हुने दाबी उनले गरे। 'बारामा पनि उपेन्द्रजीको सप्तरीको जस्तै अवस्था हुन्छ,' उनले भने ‘बारामा उहाँको पार्टीका कुनै नेता छैनन् र? बाराकै नेतालाई टिकट दिँदा अवस्था फरक हुन्थ्यो। जनताले बाराको नेतालाई आफ्नो प्रतिनिधि बनाउन चाहेका छन्। त्यसैले जनताले यस पटक मलाई रोज्नेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .