प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको अकर्मण्यता र गतिहीनताले समग्र सांसदहरुमाथि प्रश्न उठेको बताएका छन्।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य पन्तले सरकारले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्ने विषयलाई महत्व नदिएको बताए।
उनले प्रधानमन्त्री स्वयं संसद बैठकमा उपस्थित हुँदापनि प्रधानमन्त्रीले पेस गर्ने विधेयक अन्य मन्त्रीहरुले पेस गरेको भन्दै त्यसप्रकारको कार्यशैलीको विरोध गरे। उनले प्रधानमन्त्री र मन्त्रिहरुले संसदलाई महत्व नदिएका बताए। उनले सरकारको कारणले संसद प्रभावकारी हुन नसकेको भन्दै त्यसको दोष सम्पूर्ण सांसदहरुलाई लागेको उल्लेख गरे।
उनले भने, ‘यहाँ के देखियो भने प्रधानमन्त्री रमाउँदै, हल्लिँदै आउनुहुन्छ। उहाँलाई सत्ता पक्षको सचेतकहरुले हत्त न पत्त लुकाएर चेम्बरमा लैजानुपर्छ। किनभनेदेखि उहाँले प्रस्तुत गर्ने विधेयक अर्को मन्त्रीको नाममा हुन्छ। अर्थात विधेयक प्रस्तुत गर्न उहाँ आफ्नो नाम हटाउन लगाउनुहुन्छ। तर संसदमा आउनुहुन्छ। भित्र पनि पस्नुहुन्छ। उहाँलाई लुकाउन लानुपर्छ हत्त न पत्त प्रतिपक्षले उठाउला भनेर। कुनै मन्त्रीको महत्वपूर्ण काम भनेको आफूले सञ्चालन गर्ने आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयक संसदमा पेस गर्ने भन्दा कुनै महत्वपूर्ण काम हुन्छ ? हुँदैन सभामुख महोदय यति महत्वपूर्ण कामलाई उहाँले छोडेर उहाँ कहाँ जानुभयो थाहा छैन। तर यसले के देखिन्छ भने यो सरकारका मन्त्रीहरुले, यो सरकारका प्रधानमन्त्रीले संसदलाई कति महत्व दिएका छन्? संसदको गरिमा बढाउन कति काम गरेका छन् र छैनन् भन्ने देखिन्छ।’
उनले माओवादीले संसदीय व्यवस्था स्वीकार नगरेको आरोप पनि लगाए। संसदको मर्यादा, गरिमा बढाउन माओवादीलाई चासो नभएको आशंका पनि गरे।
उनले भने, ‘प्रधानमन्त्री माओवादी केन्द्रको हुनुहुन्छ। माओवादी केन्द्रको राजनीतिक दस्तावेज पढ्दा कहीँ पनि उहाँहरुले संसदीय व्यवस्था स्वीकार्नुभएको छैन। त्यो नस्वीकारेकै कारणले यो संसदको मर्यादा, गरिमा बढाउन उहाँहरुलाई चासो नभएको त होइन? सरकारको अकर्मण्यताले, गतिहीनताले, सरकारको अदूरदर्शिताले, प्रधानमन्त्री र मन्त्रीहरुले संसदलाई बेवास्ता गरेका कारणले संसदमाथि प्रश्न उठेको हो।’
प्रतिक्रिया