बामगती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पुनः सञ्चालनमा आएको छ।
बुधबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको उद्घाटन गरेका हुन्।
साताको २ दिन बुधबार र बिहीबार मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमका सेवा प्रदान गरिने अस्पतालले जनाएको छ।
कार्यक्रममा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन डा रामचन्द्र सापकोटाले २०७६ सालबाट सुरु भएको कार्यक्रम कोभिड–१९ महामारीका कारण केही समय रोकिएर अहिले पुनः सञ्चालनमा आएको बताए।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममा नसर्ने रोगहरु क्यान्सर, सुगर, प्रेसर जस्ता ७ प्रकारका स्वास्थ्य समस्याको उपचार गरिने छ।
नेपालमा हाल ६६ प्रतिशत मानिस नसर्ने रोगले ग्रसित भएको सरकार तथ्यांक छ।
अहिले बागमती प्रदेश सरकारले २ हजार २ सय रुपैयाँ बराबरको प्याकेजमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने र आगामी दिनमा यस्ता सेवा विस्तार एवम् सुधार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया