कोसी प्रदेश सरकारमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्न नेपाली कांग्रेस कार्यदल बैठक विराटनगरमा सुरु भएको छ।
नेकपा (एमाले) र कांग्रेसबीचको सत्ता साझेदारी संकटमा परेपछि सरकारबारे निर्णय गर्न कांग्रेस कोसी प्रदेश कार्यदल दलको सुरु भएको हो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा विकसित नयाँ सत्ता तरंगका कारण कोसी प्रदेशका सत्ता साझेदार दलबीच तिक्तता बढेको छ।
केन्द्रबाट ठोस निर्देशन आइनसकेको भए पनि प्रदेशको विकसित परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसले आकस्मिक बैठक बोलाएको हो। बैठकले कोसी सरकारमा कांग्रेसको निरन्तरता वा बहिर्गमनको स्पष्ट खाका कोर्ने जनाइएको छ।
बैठकमा कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापा, उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सचेतक मैयाँ श्रेष्ठ, ज्येष्ठ सदस्य गयानन्द मण्डल, महामन्त्री उमेश थापा तथा नेता अमृत अर्याल सहभागी छन्।
पार्टीभित्र सरकारको भविष्यलाई लिएर गम्भीर मन्थन भइरहँदा कांग्रेसको तर्फबाट कोसी सरकारको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार भने बैठकमा उपस्थित छैनन्।
सरकारमा सहभागी मन्त्रीहरू तत्काल सत्ता छाड्न नहुने अडानमा रहेका कारण पार्टी संगठन र सरकारमा सहभागी टोलीबीच मतभेद देखिएको छ। आजको यो बैठकले लिने निर्णयले कोसी प्रदेशमा एमाले नेतृत्वको वर्तमान सरकारको भविष्य निर्धारण गर्नुका साथै अन्य दलसँगको नयाँ सहकार्यको ढोका खोल्न सक्ने सम्भावना पनि रहेको छ।
मन्त्री सुनुवारले अहिले बैठकमा नजाने अरू विषयमा छलफल हुने उनले बताए। कोसीमा कांग्रेसको तर्फबाट भौतिक पूर्वाधारमा प्रदिप सुनुवार, उद्योग कृषि तथा सहकारी इस्राइल मन्सुरी, स्वास्थ्यमा मानबहादुर लिम्बू, पर्यटन वन तना वातावरणमा भीम पराजुली र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ छन्।
Shares

प्रतिक्रिया