राजनीति


कोसीमा एमालेसँगको सहकार्य तोड्ने कांग्रेसको निर्णय

कोसीमा एमालेसँगको सहकार्य तोड्ने कांग्रेसको निर्णय

सुमन सुस्केरा
असार ३२, २०८३ बिहिबार १३:५२, विराटनगर

नेपाली कांग्रेसले कोसी प्रदेशमा नेकपा (एमाले) सँगको सहकार्य टुंग्याउने निर्णय गरेको छ। 

बिहीबार विराटनगरस्थित कांग्रेस पार्टी कार्यालयमा बसेको कांग्रेस कोशी प्रदेश कार्यदलको आकस्मिक बैठक एमालेसँगको सहकार्य अन्त्य गर्ने निश्कर्ष निकालेको हो। कार्यदलको बैठक चलिरहेकै समयमा केन्द्रीय सभापति तथा उपसभापति लगायतका शीर्ष नेताहरूको टेलिफोन आएपछि बैठकलाई सोही निश्कर्षका साथ टुङ्ग्याइएको हो। कोसी प्रदेशमा कांग्रेस ​संसदीय दलका नेता उद्धव थापाले बैठकबारे जानकारी दिँदै केन्द्रको निर्देशन प्राप्त भएपछि मात्रै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने विषयमा निर्णय हुने बताए। 

​एमालेसँगको गठबन्धन भत्किएसँगै कोसी प्रदेशमा कांग्रेसले आगामी राजनीतिक कदमका लागि तीन वटा मुख्य विकल्पहरू अगाडि सारेको छ। पहिलो विकल्पका रूपमा केन्द्रमा एमालेसँग पुनः सहकार्यको वातावरण बन्ने परिस्थिति सिर्जना भएमा त्यसैलाई निरन्तरता दिने, दोस्रो विकल्पका रूपमा एमालेसँगको सहकार्य पूर्ण रूपमा अन्त्य भएमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)  तथा अन्य साना दलहरूसँग मिलेर नयाँ सरकार गठन गर्ने र तेस्रो विकल्पका रूपमा यी दुवै अवस्था नबनेमा कांग्रेस कोसी प्रदेशमा सशक्त प्रतिपक्षको भूमिकामा बस्ने रणनीति तय गरिएको थापाले बताए।

​पटक–पटक भइरहेको यो सत्ता फेरबदल र राजनीतिक अस्थिरताप्रति दलका नेताहरूले समेत चिन्ता व्यक्त गरेका छन्। कोशी प्रदेशमा बजेट पारित भइसकेको अवस्थामा फेरि सुरु भएको सरकार फेरबदलको खेलले जनतामा सकारात्मक सन्देश नगएको र यसले संघीयता तथा प्रादेशिक संरचनामाथि नै गम्भीर प्रश्न र चुनौती खडा गरेको कांग्रेस नेतृत्वले जनाएको छ। 

बैठकमा कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता थापा, उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सचेतक मैयाँ श्रेष्ठ, ज्येष्ठ सदस्य गयानन्द मण्डल, महामन्त्री उमेश थापा तथा नेता अमृत अर्याललगायतका शीर्ष नेता उपस्थिति थिए। 

कांग्रेसको तर्फबाट कोसी सरकारको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार भने बैठकमा अनुपस्थित रहे। बैठकमा नजाने र अरू नै विषयमा छलफल गर्ने अडान राख्दै मन्त्री सुनुवार अनुपस्थित हुनुले पार्टी संगठन र सरकारमा सहभागी टोलीबीच स्पष्ट मतभेद रहेको उजागर गरेको छ। 

हाल कोसी सरकारमा कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री सहभागी छन्। जसमा भौतिक पूर्वाधारमन्त्री सुनुवारसहित उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन्।

सरकारमा सहभागी मन्त्रीहरू तत्काल सत्ता छाड्न नहुने पक्षमा रहे पनि पार्टीको संस्थागत निर्णय र केन्द्रीय समीकरणका कारण उनीहरू रक्षात्मक अवस्थामा पुगेका छन्।

​कोसी प्रदेशमा हाल संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको सरकार क्रियाशील रहेकाले सत्ता संकट र नयाँ सरकार गठनको प्रक्रिया अन्य प्रदेशको तुलनामा केही फरक र जटिल छ। एमालेसँगको सहकार्य टुङ्गिएको निष्कर्ष निकालेसँगै अबको यात्रा कसरी अगाडि बढाउने भन्ने विषयमा थप आन्तरिक छलफल र अन्य राजनीतिक दलहरूसँग संवाद गरेर मात्र औपचारिक कदम चाल्ने कार्यदलले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad