ad ad

राजनीति


मागेको मन्त्रालय मिले सरकारमा जान तयार छ रास्वपा

प्रचण्डसँग निरन्तर संवादमा छन् रवि लामिछाने
मागेको मन्त्रालय मिले सरकारमा जान तयार छ रास्वपा

फाइल तस्बिर


सागर न्यौपाने
फागुन २९, २०७९ सोमबार १२:५५, काठमाडौँ

धेरैलाई लागेको (आम बुझाई) थियो राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा जाँदैन।

४ मंसिरको चुनावमा २० सिट जितेको रास्वपा वैकल्पिक राजनीतिक शक्ति बनेर संसदमा उभिने विश्वास मतदातामा थियो।

मतदातामा रास्वपाले सरकारका नराम्रा कामको भण्डाफोर गर्छ, विकृत्ति र विसंगतिविरुद्ध संसदमा आगो ओकल्छ भन्ने विश्वास पनि थियो। 

संसदीय राजनीतिमा नयाँपन दिन नसकेका राजनीतिक दलभन्दा फरक जोश र ऊर्जा बोकेर संसद भवन छिरेका रास्वपा सांसदहरुमा देश बनाउने संकल्प रहेको ठानिन्थ्यो।

तर, त्यसो भएन। प्रतिनिधिसभाले नयाँ जनादेश प्राप्त गर्नेबित्तिकै सुरु भएको सरकार बनाउने खेलमा रास्वपा अग्रपंक्तिमा देखियो।

नेकपा एमाले–नेकपा माओवादी केन्द्रसहितको ७ दलीय गठबन्धनबाट १० पुसमा बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रोजेकै उपप्रधान एवम् गृहमन्त्री लिएर रास्वपा सहभागी भयो।

तर, अवैध नागरिकता प्रकरणमा सभापति रवि लामिछाने गैरनागरिक ठहर भएपछि ४२ दिनमै रास्वपा सरकार छोड्न बाध्य भयो। 

सरकार छोडेको ३३ दिनमा (२५ फागुन) रास्वपाले राष्ट्रपति निर्वाचनमा नौ दलीय गठबन्धनका साझा उम्मेवार रामचन्द्र पौडेललाई मत दिएर फेरि सत्ताको बाटो समातेको छ। यससँगै रास्वपाले एमालेसँगको गठबन्धन पनि छोडेको छ।

पौडेललाई मत दिएसँगै रास्वपा सत्तारुढ दलमा मिसिन चाहेर त्यसकै लागि विभिन्न स्रोतमार्फत छलफल समेत भइरहेको नेताहरु बताउँछन्।   
रास्वपाका नेताहरुले सत्तारुढ दल, सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका नेताहरुसँग नियमितजसो भेट गरिरहेका छन्।  

प्रधानमन्त्री प्रचण्डसँग पनि रास्वपाका नेता र सांसदहरुले भेट गरिरहेका छन्। त्यो भेट सरकारमै सहभागिताको विषयमा केन्द्रित भइरहेको रास्वपाका एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। 

‘हाम्रा पार्टीका नेताहरुले प्रधानमन्त्रीसँग सिंहदरबार र बालुवाटारमा भेट गर्नुभएको छ,’ ती पदाधिकारीले भने, ‘नेगोसेसन सूत्रमार्फत् विभिन्न एजेण्डामा छलफल भइरहेको छ।’

‘प्रधानमन्त्रीले सरकारमा आउनुपर्‍यो, सरकारलाई साथ दिनुपर्‍यो भन्नुभएको छ,’ उनले थपे, ‘हामीले ठ्याक्कै निर्णय गरिसकेका छैनौँ। हामी उहाँसँग सकारात्मक छौँ, त्यही भएर सरकारलाई दिएको समर्थन कायमै छ।’

बालुवाटारनिकट स्रोतका अनुसार रास्वपाका नेताहरु यो सरकारमा सहभागी हुन तयार छन्, तर माहोल प्रधानमन्त्रीले बनाइदिनुर्ने भनिरहेका छन्। 

रास्वपा उपसभापति डोलप्रसाद अर्यालले सरकारमा सहभागिताबारे अहिलेसम्म छलफल नचलेको दाबी गरे।

‘राजनीति हो, डेलिभरी दिन सकियो भने कुनै पनि बेला निर्णय गर्न सकिन्छ,’ अर्यालले नेपालखबरसँग भने, ‘जनताको सेवा गर्न सकिने मन्त्रालय पाए सरकारमा जान जहिले पनि खुला छौँ।’ 

‘मन्त्री बन्न मात्रै सरकारमा जाने कुरा हुँदैन,’ उनले थपे।

१० पुसमा एमालेसहित ७ दलीय गठबन्धनमा मिसिएर प्रचण्ड नेतृत्वको सरकारकामा सहभागी रास्वपाले उपप्रधान एवं गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र शिक्षा मन्त्रालय लिएको थियो।

२२ माघमा सरकार छोडेको रास्वपाले राष्ट्रपतिमा गठबन्धनकै उम्मेदवारलाई मत दिए पनि उपराष्ट्रपति चुनावबारे निर्णय गरिसकेको छैन।

त्यसका लागि रास्वपाले फेरि दलको बैठक राखेर निर्णय गर्ने सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

३ चैतमा उपराष्ट्रपति चुनाव सकिएपछि सरकार पुनर्गठन गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ।

एमालेले ८ मन्त्री फिर्ता बोलाउँदै १५ फागुनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अहिले प्रचण्ड अल्पमतमा छन्।

उनले संसदबाट आगामी ५ चैतमा विश्वासको मत लिने तयारी गरेका छन्।

रास्वपाले पनि सरकारमा सहभागिताका लागि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विश्वास दिलाउन खोजेको नेताहरु बताउँछन्।

‘सरकारमा सहभागिताको विषय मात्रै होइन, नागरिकता प्रकरणले सांसद पद गुमाएका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन २ मा १० वैशाखमा उपनिर्वाचन हुँदैछ, त्यसका लागि पनि गठबन्धनलाई विश्वासमा राख्ने प्रयत्न भइराखेको छ,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘अहिले हामी आन्तरिक छलफलमै छौँ।’

रास्वपाले अहिले सबै शक्ति चितवन केन्द्रित गरेको छ। शनिबारदेखि चितवनमा जारी केन्दीय प्रशिक्षण सोमबारसम्म चल्नेछ। 

सभापति लामिछानेले सोमबार प्रशिक्षणलाई सम्बोधन गरेका छन्। उनले सम्बोधनअघि चितवनमा पत्रकाहरुसँगको कुराकानीमा तत्कालै सरकारमा जाने योजना नरहेको सुनाए।

४० सदस्यीय केन्द्रीय समितिका अधिकांश नेताहरु प्रशिक्षणमा सहभागी भएका छन्।

नागरिकता प्रकरणपछि सांसद पद गुम्ने सर्वाेच्चको फैसला भएको (१३ माघ) रविले १५ माघमै पुरानै नागरिकता लिएका छन्। तर, उनले अवैध नागरिकताका आधारमा लिएको राहदानीबारे प्रहरीले छानबिन गरिरहेको छ।

सर्वाेच्च अदालतले २४ फागुनमा सार्वजनिक गरेको पूर्णपाठमा छानबिन प्रक्रिया अघि बढाउन प्रहरीलाई बाटो खोलिदिएको छ। 

गत १३ माघ १३ मा सर्वाेच्चको  संवैधानिक इजलासले दिएको फैसलामा ‘रविको राहदानीको विषय राहदानी ऐन २०२४ र हाल प्रचलित राहदानी ऐन, २०७६ मा व्यवस्थित झुठा विवरण दिई राहदानी वा यात्रा अनुमति पत्र लिएकोसम्बन्धी प्रावधानका सन्दर्भमा प्रचलित कानुन बमोजिम निरुपण गर्नुपर्ने देखिएको’ उल्लेख छ। 

‘गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौं समेतका प्रत्यर्तीहरुको लिखित जवाफबाट राहदानीको विषयमा छानबिन भइरहेको भन्ने तथ्यसमेत खुल्न आएको पाइयो। त्यही छानबिनका सन्दर्भमा राहदानीसम्बन्धी विषयको निरुपण हुन सक्ने नै हुन्छ’, फैसलामा भनिएको छ।

यसकारण पनि रास्वपा सरकारमै सहभागी हुनसक्ने भएकोले उपराष्ट्रपति चुनावमा पनि गठबन्धनकै पक्षमा मत दिने सम्भावना रहेको नेताहरु बताउँछन्।  

तर, रास्वपालाई यसपटक सरकारमा पहिला जस्तो भनेकै जस्तो मन्त्रालय पाउने सम्भावना कम छ।

नेपाली कांग्रेससहित अहिलेको सत्ता गठबन्धनमा ९ दल सहभागी भइसकेका छन्।

सबै दललाई मन्धालय भागवण्डा गर्दा उसले खोजेको जस्तो मन्त्रालय पाउने सम्भावना कम रहेको नेताहरु बताउँछन्। 

यद्यपि संसदको चौथो ठूलो शक्ति भएकोले सरकारमा सहभागि गराउन गठबन्धन लचिलो हुने ती नेताहरु स्वीकार गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .