ad ad

राजनीति


‘परिस्थिति अप्ठेरो बनेको’ भन्दै एकतातर्फ अघि बढे दस माओवादी समूह, २६ गते अर्को बैठक

‘परिस्थिति अप्ठेरो बनेको’ भन्दै एकतातर्फ अघि बढे दस माओवादी समूह, २६ गते अर्को बैठक

सागर न्यौपाने
फागुन २४, २०७९ बुधबार २०:१४, काठमाडौँ

३५ जनाको सानो केन्द्रीय कमिटी, जम्मा ११ जना स्थायी समिति सदस्य। केन्द्रदेखि तल्लो तहसम्म चेन अफ कमान्डको पालना। पार्टीका लागि बलिदान दिन तयार नेताहरु।

युद्धकालको कठोर अनुशासनकै कारण हुनुपर्छ जनआन्दोलनपछि सार्वजनिक भएका माओवादी नेताहरु लुगासमेत उस्तै लगाउँथे। बसोबास सामूहिक थियो। मेसमा खाना खान्थे।

तर, त्यो मेलमिलाप धेरै समय टिकेन।

२०५२ देखि २०६२ सम्म दश वर्ष सशस्त्र युद्ध गरेको नेकपा माओवादी बिस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३)मा हस्ताक्षर गरेर संसदीय राजनीतिमा प्रवेश ग¥यो। पहिलो संविधान सभाको चुनावमा (२८ चैत २०६४) माओवादीले सानदार मत पायो र पहिलो दल बन्यो।

सत्तामा पुगेसँगै नेताहरुको बास छुट्टाछुट्टै हुन थाल्यो। त्यसपछि विचारमा समेत मतभेद देखिन थाल्यो। जसकारण संविधान सभाको विघटनसँगै माओवादीमा पनि ठूलो विभाजन आयो। 

प्रभावशाली नेताहरु लिएर उपाध्यक्ष मोहन वैद्यले ४ असार ०६९ मा माओवादी विभाजन गरी नेकपा–माओवादी गठन गरे।

त्यसअघि नेकपा एकता केन्द्रका नारायणकाजी श्रेष्ठ लगायतसँग एकता गरेर एमाओवादी बनाइएकोप्रति असन्तुष्टि जनाउँदै मात्रिका यादवले (२०६५) पार्टी छोडेर नेकपा माओवादी गठन गरेका थिए।

वैद्यले पार्टी विभाजन गरेदेखि अहिलेसम्म माओवादी दस टुक्रामा विभाजन भएको छ।  

तर, सर्वाेच्च अदालतमा २३ फागुनमा दर्ता भएको द्वन्द्वकालीन दुई वटा मुद्दाले माओवादी धारका पार्टीलाई एकै ठाउँमा उभ्याइदिएको छ।

नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी र माओवादी कम्युनिस्ट पार्टीले कार्यगत एकता गर्ने निर्णय गरिसकेका छन्। 

विभिन्न समयमा टुटेका माओवादी घटकहरुबीच एकता गर्ने प्रयास थालेका छन्। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएपछि माओवादी धारका नेताहरु एउटै कित्तामा उभिन थालेका हुन्। यसमा जोडिने पार्टीहरुको संख्या अझै बढ्ने नेताहरु बताउँछन्।  

प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता नभएको भए एकै ठाउँ उभिने वातावरण नबन्ने उनीहरुको तर्क छ।

सो क्रममा बुधबार साँझ नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला र नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्माले बालुवाटार गएर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन्। उनीहरुले अब माओवादी एकता गर्नुपर्नेमा जोड दिएको स्रोतले जनाएको छ। यसबारे उनीहरुले छलफललाई निरन्तरता दिने पनि बताएका छन्। 

माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले प्रचण्डमाथि दर्ता भएको मुद्दाले सबै माओवादी दलहरुलाई एकै ठाउँमा ल्याएको बताए। विगतमा जनयुद्धमा सामेल भएका नेताहरु एकजुट नहुने हो भने परिस्थिति अप्ठेरो हुने खतरा बढेको उनको भनाइ छ। अदालतले मुद्दा अगाडि बढाए यी दलहरुबीच एकता हुने उनले दाबी गरे।

‘मुद्दा सामान्य गरी सेलायो भने तत्काल केही हुँदैन,’ बुढाथोकीले नेपालखबरसँग भने, ‘तर, अदालतले अध्यक्ष प्रचण्ड विरुद्धको मुद्दा बढायो, हस्तक्षेप गर्न खोज्यो भने सबै माओवादी घटकबीच छिटै एकता हुन्छ।’

‘एकताको लागि वातावरण बन्छ त्यसबेला। विचार, कार्यनीति र कार्यदिशा भन्ने प्रश्न हुँदैन,’ उनले थपे, ‘अस्थिरता हुने र द्वन्द्व चर्किने अवस्थामा सबै माओवादी मिलेर मुकाबिला गर्नुको विकल्प हुँदैन।’

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मंगलबार (२३ फागुन) ८ दलबीचको छलफलमा आफूले पार्टी एकता गरेर जान प्रस्ताव राखेको बताए।

‘पार्टी एकता गरेर जाऊँ भनेर प्रस्ताव मैले नै राखेको हुँ,’ महराले नेपालखबरसँग भने, ‘हामी तत्कालीन संक्रमणकालीन मुद्दामा एउटै धारणा बनाएर अघि नबढे समस्या पार्न खोज्ने कोसिस भइरहनेछ।’

प्रधानमन्त्री प्रचण्डमाथिको मुद्दाले सबै माओवादी घटक एकै ठाउँमा उभ्याएको उनको भनाइ छ।

‘मुद्दा नेगेटिभ तर, परिणाम पोजिटिभ आयो,’ महराले थपे, ‘केही दिनमै एउटा नतिजा आउन सक्छ।’

तर नेपाल समाजवादी पार्टीका सहअध्यक्ष एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले पार्टी एकताकै लागि प्रचण्डमाथिको मुद्दाले धेरै भूमिका नखेल्ने बताए।

‘जनयुद्ध सबै मिलेर लडेका हौँ। प्रचण्डमाथि मुद्दा दर्ता हुनु भनेको व्यक्तिगत कुरा मात्र होइन। यो त जनयुद्धलाई अपराधीकरण गर्ने षडयन्त्र हो,’ श्रेष्ठले भने, ‘संक्रमणलीन मुद्दा अदालत लगे त्यसको दुष्परिणामको साक्षी सबै हुनुपर्छ भन्ने निचोड हो।’

बालुवाटारमा २३ फागुनमा जुटेका माओवादी ८ घटकबीच तीनवटा विषयमा छलफल भएको थियो। सबै धारका माओवादीबीच एकता गरेर एउटै पार्टी बनाउने, मिल्न नसके कार्यगत एकता गर्ने वा त्यसो पनि गर्न नसके संयुक्त मोर्चा बनाएर कार्यगत एकता गर्ने।

‘शान्ति प्रक्रियासँग सम्बन्धित विषयलाई सबै मिलेर टुंगो लगाउनुपर्नेमा एक मत छ,’ श्रेष्ठले थपे, ‘घटनाक्रमले माओवादीहरुको एकता नै माग गरेको छ।’

८ वटै घटकबीच सामूहिक रुपले प्रतिवाद गर्ने निर्णय भएको छ। २६ फागुनमा ८ वटै माओवादी दलहरुको बैठक बस्दैछ। त्यही बैठकले संघर्षका कार्यक्रम घोषणा गर्न सक्ने नेताहरु बताउँछन्। 

‘मिलेर संघर्षका कार्यक्रम घोषणा गर्नु भनेकै पार्टी एकताको माहोल बनाउनु हो,’ माओवादी केन्द्र समाजवादीका अध्यक्ष बुढाथोकीले भने।

८ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया समाधान गर्न मिलेर जानुपर्ने अवस्था आएको बताएका थिए। 

नेसपा र माओवादी एकता अन्तिम चरणमा
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

‘नेसपा र माओवादी केन्द्रबीचको एकता निकै अगाडि बढिसक्यो, अब एकता हुन्छ,’ सहअध्यक्ष गंगानारायण श्रेष्ठले नेपालखबरसँग भने, ‘अब केही विषय टुंगो लागेपछि घोषणा हुन्छ।’

माओवादी केन्द्र र अन्य धारबीच पार्टी एकताको सबैभन्दा पेचिलो विषय वैचारिक राजनीतिक कार्यदिशा हुने देखिन्छ। नेकपा र नेकपा–क्रान्तिकारी माओवादीले संसदवादको अन्त्य गर्ने कार्यदिशा लिएको छ। 

स्थायी समिति सदस्य सीपी गजुरेलले सर्वाेच्चको मुद्दाले माओवादी धारलाई कार्यगत एकता गराएको बताए।

‘सर्वाेच्च अदालतका दुई न्यायाधीशको इजलासले जुन आदेश दियो, यसले नेपालको शान्ति प्रक्रियालाई चुनौती दिएको छ,’ गजुरेलले नेपालखबरसँग भने, ‘शान्ति प्रक्रिया भंग भए नेपालमा के अवस्था आउँछ? गम्भीर र चिन्तित बनायो।’

‘तर, कम्युनिष्ट आन्दोलनमा ध्रुवीकरण पहिले फुटेर र अहिले जुटेर हुन थालेको छ,’ उनले थपे। 

संशोधनवादीहरु एकै ठाउँमा उभिएको र क्रान्तिकारीहरु पनि एकजुट हुन थालेको उनले बताए। 

‘नेकपा बहुमत र मसालसँग हाम्रो एकता हुँदैछ,’ गजुरेलले भने।  

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले माओवादी धार एकैठाउँमा उभिने अवस्था आएको बताए। नेकपाका महासचिव विप्लवले एकतै गरेर जान सकिने संकेत गरेका छन्। 

‘यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउन खोजिँदैछ। इतिहास फेरि दोहोरिन सक्छ, हेक्का राखे हुन्छ,’ उनले २१ फागुनमा काठमाडौंमा सहिद बेपत्ता योद्धा सन्तति फाउन्डेसनले गरेको कार्यक्रममा भने, ‘इतिहास दोहोरिने बेला हुँदैछ। माओवादीहरु एक हुन सक्छन्। फेरि जनक्रान्ति हुन सक्छ।’

माओवादीका नेताहरुका अनुसार विप्लवसँगको एकताका लागि छलफल भइरकेको छ। 

माओवादीमा टुटफुटको शृंखला 
तत्कालीन एमाओवादीका प्रभावशाली उपाध्यक्ष मोहन वैद्यले ४ असार ०६९ मा पार्टी फुटाए र नेकपा–माओवादी गठन गरे। उनलाई रामबहादुर थापा बादल, पम्फा भुसाल, देव गुरुङ, सीपी गजुरेल, नेत्रविक्रम चन्दसहित बहुमत स्थायी समिति सदस्यले साथ दिए।

दोस्रो संविधानसभाको मुखैमा उपाध्यक्ष वैद्यले प्रभावशाली नेताहरु लिएर पार्टी फुटाएकाले प्रचण्डलाई ठूलो धक्का लाग्यो।

३ असोज ०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएलगत्तै १० असोज ०७२ मा उपाध्यक्ष बाबुराम भट्टराईले पनि पार्टी छोडेर नयाँ शक्ति बनाए।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट अलग भएर नेत्रविक्रम चन्दले मंसिर ०७१ मा नेकपा गठन गरे। रामबहादुर थापा, पम्फा भुसाल र देव गुरुङ लगायत नेताहरुले २ जेठ २०७३ मा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरे। 

उनीहरुले ७ जेठ २०७३ मा एमाओवादीसँग एकता गरेपछि माओवादी केन्द्र बन्यो।

एकीकृत जनक्रान्तिको नारा लिएर सशस्त्र युद्ध गरेको विप्लव नेतृत्वको नेकपाका प्रभावशाली नेताहरु धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली लगायतले २१ वैशाख २०७९ मा नेकपा (बहुमत) गठन गरे। 

३ जेठ २०७५ मा एमाले र माओवादीबीच पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै निस्किएका गोपाल किरातीले पनि बेग्लै समूह चलाइरहेका छन्।

यस्तै विश्वभक्त दुलाल आहुतिले वैज्ञानिक समाजवादी पार्टी गठन गरेर गतिविधि गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .