राजनीति


प्रतिक्रियावादीहरु अहिले पनि माओवादीविरुद्ध घेराबन्दी गर्दैछन् : प्रचण्ड

प्रतिक्रियावादीहरु अहिले पनि माओवादीविरुद्ध घेराबन्दी गर्दैछन् : प्रचण्ड

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
फागुन २१, २०७९ आइतबार १३:२९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि आफूहरुलाई घेराबन्दी गरेर सिद्याउने खेल भइरहेको बताएका छन्।

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रज्ञा भवनमा आइतवार गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यसो भनेका हुन्। 

'प्रतिक्रियावादीहरुले आज पनि घेरा हाल्ने षड्यन्त्र गर्दैछन्', उनले भने, 'माओवादीहरु एक ठाउँमा जम्मा भएर लाखौँ जनता उतार्ने हो भने प्रतिक्रियावादीहरु कमजोर हुन्छन्।'

उनले माओवादी विभाजित भएकाले पनि चौतर्फी प्रहार भइरहेको बताए। 'माओवादी शक्तिहरु विभाजित भएकाले यही कुरामाथि अहिले प्रहार भइरहेको छ', उनले भने, 'फेरि माओवादीहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ।'

उनले माओवादी आन्दोलन एउटा ठूलो प्रवाहका रुपमा अगाडि बढेको बताए। 'तर शान्ति प्रक्रियापछि भंगलाहरु जस्तो भएर फुटे, अब फेरि विशाल सागर बन्ने दिशातिर जानुपर्छ', उनले भने, 'विप्लव र बाबुरामले राम्रै अनुभव लिनु भएको छ। धर्मेन्द्र अनुभव लिइरहनु भएको छ। मैले र किरण सबैले लिएका अनुभवहरु हाम्रै हुन्। हामी मिलेमा शक्तिशाली हुन्छौँ।'

उनले अब फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भनेर मिल्न पनि माओवादीका विभिन्न शक्तिहरुलाई आग्रह गरे। 

'अहिले पनि अनेक घेराबन्दी छन्, तर लडिरहेका छौँ। हामी सबै लडाइँ लडिरहेका छौँ। अब एक ठाउँमा भए हाम्रो आन्दोलन अमर हुन सक्छ', उनले भने, 'माओवादीविरुद्ध बदनाम गर्ने र षडयन्त्र गर्ने क्रम भएको छ। मिलेर यसलाई परास्त गरौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .