ad ad

राजनीति


गोविन्द भट्टराईलाई सभापति देउवाको निर्देशन– जित्ने गरी तयारी गर्नू

गोविन्द भट्टराईलाई सभापति देउवाको निर्देशन– जित्ने गरी तयारी गर्नू

केशव सावद
फागुन १५, २०७९ सोमबार १२:२०, काठमाडौँ

राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धनको निर्णयसँगै राष्ट्रपतिमा नेपाली कांग्रेसले अघि सारेका उम्मेदवार रामचन्द्र पौडेल भारी मतका साथ विजयी हुने देखिएको छ। 

कांग्रेससँगै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाबीच राष्ट्रपति निर्वाचनका गठबन्धन बनेसँगै उनी भारी मतका साथ विजयी हुने देखिएको हो। 

गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिअनुसार आठ दल एक ठाउँमा उभिए कांग्रेसका वरिष्ठ नेता पौडेल ३१ हजारभन्दा बढी मतभारका साथ राष्ट्रपतिमा विजयी हुने निश्चितप्रायः छ।

संघीय संसदका दुवै सदन र प्रदेश सभाका सदस्य मतदाता हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसको मतभार १६ हजार २ सय २१ छ भने माओवादी केन्द्रको ७ हजार ७ सय ७६ छ।

एकीकृत समाजवादीको २ हजार ६ सय ७३, जसपाको २ हजार १ सय ४५, जनमत पार्टीको १ हजार २ सय ४२, लोसपाको ९ सय ७१, नागरिक उन्मुक्तिको ८ सय ४ र राष्ट्रिय जनमोर्चाको २ सय २३ मतभार छ। 

फागुन २५ गते हुन गइरहेको निर्वाचनबाट पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए संविधानको धारा ६२ को उपधारा ६ अनुसार सांसद पद स्वतः रिक्त हुने छ।

संविधानको धारा ६२ को उपधारा ६ मा भनिएको छ, ‘निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस धारा बमोजिम राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ।’

गत मंसिर ४ मा सम्पन्न प्रनिनिधिसभा निर्वाचनमा पौडेल २५ हजार २६१ मतका साथ तनहुँ–१ बाट विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेददवार एकबहादुर रानामगरले १९ हजार ९८१ ल्याउँदा स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ प्राप्त गरेका थिए।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विनोदकुमार घर्तीले २ हजार ८८४ मत ल्याएका थिए। 

राष्ट्रपतिमा पौडेल विजयी हुँदा संविधानअनुसार पद स्वतः रिक्त भए उनले प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको तनहुँ–१ मा उपनिर्वाचन हुनेछ। 

उक्त उपनिर्वाचनमा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने चर्चा कांग्रेस वृत्तमा छ। 

उनलाई सभापति शेरबहादुर देउवाले पनि तनहुँ–१ का लागि ‘ग्रिन सिग्नल’ देखाइसकेका छन्। सोमबार धुम्बाराहीस्थित निवास पुगेका केन्द्रीय सदस्य भट्टराईलाई उनले उपनिर्वाचन जित्ने गरी तयार गर्न भनिसकेका छन्। 

‘आज बिहान सभापतिज्यू भेट्न निवास गएका थियौं। गोविन्द दाइले तनहुँ–१ मा उपनिर्वाचन हुने अवस्थामा आफूले टिकट पाउनु पर्ने कुरा सभापतिज्यूसँग राख्नुभयो,’ धुम्बाराही भेटमा सहभागी कांग्रेस कार्यकर्ताले नेपालखबरसँग भने, ‘सभापतिज्यूले जितेर आउनुपर्छ। जित्ने गरी तयारी गर्नू भन्नुभयो।’

सभापति देउवासँगको छलफलमा नेता भट्टराईले गएको निर्वाचनमा आफूले तनहुँमा तत्कालीन ५ दलीय गठबन्धनको नेतृत्व नै गरेको र वरिष्ठ नेता पौडेललाई पूर्ण रुपमा सहयोग गरेको बताएको उनले जानकारी दिए। 

पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नवौं अध्यक्ष रहिसकेका नेता भट्टराई १४ औं महाधिवेशनमा सभापति देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .