एमाले महासचिव शंकर पोखरेलले एमालेबाटै आगामी राष्ट्रपतिको उम्मेदवार हुने र विजयी हुने दावी गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको सार्वजनिक भइरहेका बेला महासचिव पोखरेलले राष्ट्रपति एमालेबाटै हुने बताएका हुन्।
सत्तागठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा सहमति जुट्न नसकेपछि अध्यक्ष ओलीले पछिल्लो समय एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम प्रस्ताव गरेका छन्। एकिकृत समाजवादी भने यतिबेला नेपाली कांग्रेससँगको गठबन्धनमा आवद्ध छ।
राष्ट्रपतिमा नेपाली कांग्रेसले पनि दावी गर्दै आएको छ। नेपाल एमालेबाट समर्थित राष्ट्रपतिका उम्मेदवार बनेमा कांग्रेस–एकिकृत समाजवादीबीचको गठबन्धन टुट्नेछ। नेपाललाई माओवादी केन्द्रले समर्थन गर्छ वा गर्दैन, त्यो भने एकिन छैन।
एमाले–एकिकृत समाजवादीबीच एकता गर्ने शर्तमा ओलीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेका हुन्। यी दुई पार्टीबीच एकता भएको खण्डमा प्रचण्डको प्रधानमन्त्री पद धरापमा पर्न सक्छ। किनकी, त्यो एकतापछि कांग्रेसलाई उछिन्दै एमाले सबैभन्दा ठूलो दल बन्ने सम्भावना बढ्नेछ।
सबैभन्दा ठूलो दल बनेसँगै एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएमा एमाले संसदीय दलको नेता समेत रहेका अध्यक्ष ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री पदमा नियुक्त हुनेछन्।
त्यसैले, कांग्रेस–एकिकृत समाजवादीबीचको गठबन्धन तोडिने र सबैभन्दा ठूलो संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीसमेत बन्नेगरी ओलीले नेपाललाई पार्टी एकता गर्ने शर्तमा राष्ट्रपतिमा प्रस्ताव गरेका हुन्।
एमाले महासचिव पोखरेल भने आगामी राष्ट्रपतिको उम्मेदवार पार्टीबाटै हुने बताउँछन् र विजयी हुने दावीपनि गर्छन्।
‘निर्वाचनमा जीत–हार स्वभाविक हो। पराजित भइएला भनेर उम्मेदवारी नदिने कुरा आउँदैन’, महासचिव पोखरेलले नेपालखबरसँग भने, ‘तर, यसपटकपनि राष्ट्रपति निर्वाचनमा एमालेकै उम्मेदवार विजयी हुनेमा हामी विश्वस्त छौँ।’
Shares

प्रतिक्रिया