ad ad

राजनीति


जसलाई १३ गते ओलीले राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गर्न सक्छन्

जसलाई १३ गते ओलीले राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गर्न सक्छन्

राष्ट्रपतिमा साझा उम्मेदवारका रुपमा एमालेले बाबुराम भट्टराईको नाम प्रस्ताव गर्ने सम्भावना बढेको छ (फाइल तस्बिर)


नेपालखबर
फागुन ७, २०७९ आइतबार २३:३२, काठमाडौँ

आइतबार विराटनगर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली एमालेद्वारा प्रस्तावित उम्मेदवार नै राष्ट्रपतिमा विजयी हुनेमा विश्वस्त देखिए।

‘राष्ट्रपतिको चुनावमा एमालेलाई माओवादीले साथ दिँदैन कि भन्ने कल्पना नै नगरौँ’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले आइतबार भने, ‘राष्ट्रिय सहमतिका साथ राष्ट्रपतिमा एमाले उम्मेदवार नै विजयी हुनेछन्।’

राष्ट्रपति उम्मेदवारका विषयमा छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुधबार (३ फागुन) बालकोटस्थित ओली निवास पुगेका थिए। त्यो भेटमा दुई शीर्ष नेताबीच डेढ घण्टा कुराकानी भएको थियो।

बालकोट वार्ताको भोलिपल्ट बिहीबार (४ फागुन) ओली बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगे। बिहीबारको यो कुराकानी दुई घण्टा लम्बियो। साझा उम्मेदवारका विषयमा सहमति जुटेन।

तर, ‘सहमति नजुटे’ पनि भेटवार्ताका क्रममा दुई नेताको ‘बडिल्याङ्ग्वेज’ भने अर्थपूर्ण थियो। कालो टोपी र कोट–पाइन्टमा सजिएका दुबै नेता हर्षित देखिन्थे। ‘हात मिलाइ’ पनि सहज थियो। 

बिहीबारको भेटको तस्वीरले संकेत गरेजस्तै ‘राष्ट्रपतिका साझा उम्मेदवार’ खोज्ने कुरामा पछिल्लो समय ओलीपनि सहमत हुँदै गएका छन्। यसको संकेत उनले विराटनगर पुगेर गरे।  

स्रोतका भनाईमा, राष्ट्रपति निर्वाचनका सन्दर्भमा पछिल्लो समय भारतीय सक्रियता बढी नै देखिएपछि अहिलेको सत्ता गठबन्धन बचाउन साझा उम्मेदवार खोज्नेमा दुई नेताबीच सहमति जुटेको हो। 

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु हुनेमात्र बताएनन्, आफू छिट्टै नयाँदिल्ली जाने समेत बताएका थिए।

तर, प्रचण्डले भारत भ्रमणको औपचारिक निम्तो अहिलेसम्म पाउन सकेका छैनन्। 

मौखिक नै सही, नेपाल आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले १ फागुनमा प्रधानमन्त्री प्रचण्डसँगको भेटमा समेत भ्रमणको निम्तो दिएनन्। जबकि, यस्ता उच्चस्तरीय भेटघाटका बेला औपचारिकताका लागि भएपनि भ्रमणको मौखिक निम्तो दिने चलन छ।

स्रोतका भनाईमा, राष्ट्रपति कस्तो व्यक्ति हुने भन्ने विषयमा प्रचण्ड धारणामा भारत सकारात्मक छैन। प्रचण्डले ‘सबैलाई स्वीकार्य हुने साझा व्यक्तित्व’ लाई राष्ट्रपति बनाउन चाहेका छन्। 

आफू असमयमै प्रधानमन्त्रीबाट हट्नु नपरोस् भनेरपनि प्रचण्डले राष्ट्रपतिमा सबैलाई स्वीकार्य हुने साझा व्यक्तित्वको खोजी गरेका हुन्।

तर, भारतको जोड भने कुनै हालतमा कम्युनिष्ट पृष्ठभूमिको व्यक्ति राष्ट्रपति बनाउन हुँदैन भन्ने छ। 

भारतले ‘गैरकम्युनिष्ट पृष्ठभूमिको व्यक्ति’ लाई मात्र राष्ट्रपतिको रुपमा देख्न चाहनुको अर्थ हो– उ कम्युनिष्ट नेतृत्वको सरकार पनि देख्न चाहँदैन।

त्यसैले, भारत अनुकूलको व्यक्ति राष्ट्रपति निर्वाचित भयो भने आफू नेतृत्वको सरकारलाई विस्थापित गर्ने खेलमा नयाँदिल्ली लाग्नेछ भन्ने भय प्रचण्डलाई छ।

उता, राष्ट्रपतिको विषयले एमाले–माओवादीबीचको सम्बन्ध पेचिलो बन्दै गएको आभाष पाएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत यो गठबन्धन जोगाउन सक्रिय भएका छन्। 

एमाले–माओवादी गठबन्धन भत्किँदा राजनीतिक अस्थिरता बढ्ने विश्लेषणका साथ भट्टराई गठबन्धन जोगाउन सक्रिय देखिएका उनी निकट नेताहरू दाबी गर्छन्। 

भट्टराई १० पुसमा प्रचण्ड प्रधानमन्त्री बन्नुअघि कांग्रेस–माओवादीसहितको गठबन्धनकै निरन्तरताको पक्षमा थिए। 

राष्ट्रपति उम्मेदवार प्रकरणका कारण एमाले–माओवादीबीच सम्बन्ध चिसिँदै जाँदा प्रमुख प्रतिपक्षी कांग्रेस हौसिएपनि स्मरणीय कुरा के छ भने, ओलीसँग राष्ट्रिय सहमति सहितको साझा व्यक्तित्वलाई राष्ट्रपति बनाउने अडान लिएका प्रचण्डले कांग्रेसबाट चर्चामा ल्याइएका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पनि सहजै स्वीकार नगर्न सक्छन्। 

किनकी, उनीहरु पार्टीका शीर्ष नेताहरु हुन्, साझा व्यक्तित्व होइनन्। 

उनीहरुको चर्चा भारततिर बढी रुझान राख्ने नेताहरुको रुपमापनि हुने गरेको चर्चा माओवादीभित्र छ।

त्यसैले, सबैलाई स्वीकार्य हुने व्यक्तित्व राष्ट्रपति हुनुपर्छ भन्ने प्रचण्डको प्रस्तावमा ओली लचक हुनासाथ एमाले–माओवादी केन्द्रको गठबन्धन जोगिन्छ। र, यही गठबन्धनले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित हुन्छ। 

यस्ता केही कारणहरु छन्, जसका कारण ओलीपनि प्रचण्डले भने बमोजिम नै राष्ट्रपति उम्मेदवार स्वीकार गर्नुपर्ने परिस्थितिमा पुगेका छन्। 

‘साझा व्यक्ति राष्ट्रपति हुनुपर्छ’ भन्ने प्रचण्डको सरोकारको सुनुवाई नगर्दा राष्ट्रपति निर्वाचनमा एमाले पराजित हुन्छ नै, माओवादीसँग गठबन्धन गर्दा प्राप्त अन्य थुप्रै अवसरपनि एमालेले गुमाउनु पर्ने हुन्छ।

रेशम चौधरीको रिहाई नहुँदा एमाले नेतृत्वको सुदुर पश्चिम प्रदेश सरकार ढलिसकेको छ। राष्ट्रपति उम्मेदवारका कारण माओवादीसँगको गठबन्धन टुट्यो भने एमाले नेतृत्वका प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेश सरकारपनि ढल्छ। 

त्यसबाहेक प्रचण्ड नेतृत्वको सरकारमा एमालेले पहिलो बरियताको उपप्रधानमन्त्री सहित अर्थ, परराष्ट्र, रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व पाएको छ। यो गठबन्धन टुट्दा केन्द्रमा पनि एमाले सत्ताविमुख हुन्छ। 

केन्द्रदेखि प्रदेश सरकारसम्म हात धुनुपर्ने मात्र होइन, अर्को वर्ष हुने राष्ट्रिय सभाका एक तिहाई सिटको निर्वाचनमा पनि पराजय बेहोर्नुपर्ने हुन्छ। अहिले बढेको असमझदारीका कारण पाँच वर्षपछि हुने स्थानीय तह र संसदको निर्वाचनमा पनि कांग्रेस–माओवादी केन्द्रबीच गठबन्धन निर्माण हुनसक्छ।

अर्थात्, माओवादीसँगको गठबन्धन टुट्दा त्यसको नकारात्मक असर दीर्घकालसम्म रहन्छ। 

खासमा ओलीले राष्ट्रपतिमा अडान लिएको एमालेको सत्ता सुरक्षित गर्नका लागि हो। तर, आफैँले भने बमोजिमकै व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्ने अडान लिँदा राष्ट्रपति–उपराष्ट्रपति दुबै पद र हाल प्राप्त सत्ता गुमाउनु पर्ने हुनसक्छ।  

आफ्नो अव्यहारिक अडानका कारण दोस्रो पटकपनि केन्द्रदेखि प्रदेशसम्मस सत्ता गुमाउनुपर्यो भने ओलीको नेतृत्व क्षमतामाथि पनि प्रश्न उठ्न थाल्छ। कतिपय एमाले नेताहरूका भनाईमा, गठबन्धन टुट्दा प्राप्त हुने नकारात्मक परिणामको भय ओलीलाई पनि छ। त्यसैले, उनले माओवादी केन्द्रसँगको गठबन्धन कायम राख्न पछिल्लो समय महासचिव शंकर पोखरेललाई पनि सक्रिय गराएका छन्।

१० पुसअघि एमाले–माओवादीबीच गठबन्धन निर्माण गर्नपनि महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लगायतका नेता सक्रिय थिए। माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुनको भूमिका थियो। 

तर, गृह मन्त्रालयको आशा गरेका श्रेष्ठको साटो रवि लामिछानेलाई सो मन्त्रालय दिइएको र बरियतामा पनि विष्णु पौडेल भन्दा तल राखिएका कारण श्रेष्ठ ओलीसँग रुष्ट छन्। लगातारको विमारका कारण पुनपनि केही सातायता राजनीतिक रुपमा सक्रिय हुन पाएका छैनन्। 

त्यसैले, आफैँँ प्रचण्डसँग निरन्तर सम्बाद गरेका ओलीले माओवादीसँगको गठबन्धनलाई निरन्तरता दिने गरी प्रचण्डलाई विश्वासमा लिन महासचिव पोखरेललाई खटाएका हुन्। प्रचण्डका ओलीप्रतिका गुनासा सुन्ने र निकास खोज्ने प्रयास पोखरेलले गरिरहेका छन्। 

यसैक्रममा एमालेलाई पनि मान्य हुने गरी राष्ट्रपति उम्मेदवार प्रस्ताव गर्ने अवसर प्रचण्डलाई दिने, प्रचण्डले प्रस्ताव गरेको व्यक्तिलाई एमालेले उम्मेदवारको रुपमा घोषणा गर्ने, उपराष्ट्रपति चाहिँ आफूले लिने सोचमा ओली र उनी निकटका नेताहरु पुगेको एमाले–माओवादी पछिल्लो छलफलबारे जानकार नेताहरू बताउँछन्।  

यसो हुँदा १० पुसयता एमालेलाई ‘प्राप्त उपलब्धि’ को रक्षामात्र हुँदैन, थप केही उपलब्धि हासिलस हुन्छ।  

एक, माओवादीसँगको गठबन्धन र पार्टीको सत्तायात्रा निरन्तर रहन्छ। दुई, राष्ट्रपति निर्वाचनमा पराजयको मार खेप्नु पर्दैन। बरु आफ्नै स्वीकृतिका उम्मेदवार हुने भएकाले नयाँ राष्ट्रपति आफूप्रति सहानुभूतिशीलपनि रहन्छन्। 

तीन, एमालेलाई सत्ताबाट बाहिर राख्ने भारतको रणनीति फेल हुन्छ। चार, उपराष्ट्रपति आफ्नै पार्टीका नेता निर्वाचित हुने पक्का हुन्छ।

त्यसो भए प्रचण्डले राष्ट्रपतिमा कसको नाम प्रस्ताव गर्लान् त?

यसअघि प्रचण्डले सुवास नेम्वाङ, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको नाम प्रस्ताव गर्दै आएका थिए। पछिल्लो समय ईश्वर पोखरेलको पक्षमा अडान लिएका ओलीले बेलाबखत गुरु बराल र सीता गिरिको नाम लिने गरेका थिए।

तर एमालेका केही नेताहरू ओलीले ईश्वरको नाम लिएर खासमा सुवास नेम्वाङलाई राष्ट्रपति बनाउन चाहेको दाबी गर्छन्। ती नेताहरूका अनुसार प्रचण्डसँग सहमति जुटाउन सुवासपछि ओलीको सूचीमा पृथ्वीसुब्बा गुरुङ र अष्टलक्ष्मी शाक्य वा युवराज ज्ञवाली पनि छन्। 

तर, यसअघि प्रचण्डले प्रस्ताव गरेका नाम ओलीले अस्वीकार गदैृ आएका छन् र ओलीले प्रस्ताव गरेका नामलाई प्रचण्डले पनि स्वीकार गर्न सकेनन्।

त्यसैले, अबको अर्को सम्भावना प्रचण्डले राष्ट्रपतिका लागि ओलीसमक्ष डा. बाबुराम भट्टराईको नाम प्रस्ताव गर्न सक्नेछन्। र, साझा उम्मेदवारको रुपमा भट्टराईको नाम चाहिँ एमालेले सार्वजनिक गर्ने सम्भावना पनि छ।  

एमाले–माओवादी गठबन्धन जोगाउन सक्रिय केही नेताहरूका अनुसार विराटनगर पुगेका ओलीले पूर्ण विश्वासका साथ आफुले राष्ट्रपतिको उम्मेदवार १३ गते मात्रै सार्वजनिक गर्ने र ‘राष्ट्रिय सहमतिका साथ एमालेले प्रस्ताव गरेका उम्मेदवार नै विजयी हुनेछन्’ भन्नुको कारण सम्भवतः यही हुनसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .