राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्नुअघि नै प्रमुख प्रतिपक्षी कांग्रेसले नेकपा माओवादी केन्द्रसँग विशेष सहमति गर्ने तयारी गरेको छ।
आइतबार बालुवाटार पुगेका कांग्रेस सभापति शेरबहादुर देउवासहितको पदाधिकारी टोलीले प्रधानमन्त्री प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बन्न औपचारिक प्रस्ताव राखेका छन्।
प्रधानमन्त्री प्रचण्डले संविधान जोगाउन र संघीयताको रक्षाको लागि कम्तीमा सरकार पाँच वर्ष टिक्नुपर्ने धारणा राखिरहेका छन्।
ठीक यही समयमा कांग्रेसले राखेको प्रस्तावले राजनीतिक कोर्स बदल्ने संकेत देखाएको छ।
आइतबार बेलुका बालुवाटारमा २ घण्टा भएको भेटमा प्रधानमन्त्री प्रचण्डसमक्ष कांग्रेसका सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र कृष्ण सिटौला लगायतका नेताहरुले विगतको कमजोरी सच्याएर नयाँ ढंगले जान जोड दिएका हुन्।
कांग्रेस नेताहरुले राखेको प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक रहेको भन्दै सोमबार तय भएको पदाधिकारी बैठकमा छलफल गरेर निर्णय दिने जवाफ दिएको बालुवाटमार सहभागी कांग्रेसका एक पदाधिकारीले नेपालखबरसँग बताए।
‘प्रधानमन्त्रीसँग हामीले पुरानो गठबन्धनबाट अगाडि बढ्दा राम्रो हुने बतायौँ, ती पदाधिकारीले भने, ‘त्यसो गर्दा राष्ट्रपतिमा हाम्रो पार्टीलाई सघाउनुस्, तपाईँ ५ वर्ष नै प्रधानमन्त्री बन्नुस्, ५ वर्ष तपाईँलाई प्रधानमन्त्री मान्न हामी तयार छौँ भनेका छौँ।’
नेपाली सेनाले राखेको कार्यक्रम सकेर प्रधानमन्त्री बालुवाटार पुग्नेबित्तिकै कांग्रेस सभापतिसहितका नेताहरु पुगेका थिए।
भेटमा प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेसलाई समेटेर लग्न तयार भएको बताएका थिए।
‘मेरो जोड त राष्ट्रिय सहमति वा कम्तीमा दलभित्रको सहमति जुटाएर राष्ट्रपति चयन गर्नुपर्छ भन्ने हो, त्यसमा म अडिग छु,’ उनले थपे, ‘सहमतिको सबैतिर प्रयास गर्नुपर्छ। हेरौँ।’
अर्का एक नेताले भने राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सघाउन सभापति देउवाले प्रधानमन्त्रीलाई औपचारिक प्रस्ताव राखेको बताए।
भेटमा पुस २ गतेको सहमति १० गते तोडिएको विषयमा गम्भीर समीक्षा गरेको भन्दै अब तपाईलाई विश्वास लाग्ने आधार बनाउन तयार रहेको कांग्रेसका नेताहरुले बताएका थिए।
‘विगतमा केही तीता अनुभवहरु भए, यसलाई पाठका रुपमा लिएका छौँ, अब नयाँ ढंगले जान तपाईसँग छलफल गर्न आएका हौं,’ कांग्रेस नेताहरुको प्रस्तावबारे बालुवाटार स्रोतले भन्यो, ‘केही द्विविधा छन् भने चिरेर अघि जाऊँ। नेपालको शान्ति प्रक्रिया, संविधानको रक्षा, गणतन्त्र र संघीयताको रक्षा र विकास पुरानै गठबन्धनबाट मात्र सम्भव छ।’
माओवादी र कांग्रेसबीचको विगतमा बिग्रेको सम्बन्ध सुधार गर्न उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा निरन्तर बालुवाटार पुग्ने गरेका थिए।
आइतबार पनि महामन्त्री थापाले माओवादी केन्द्रका दोस्रो तहका नेताहरुसँग ललितपुरमा वार्ता गरेका थिए।राष्ट्रपतिको उम्मेदवारी मनोनयन कार्यतालिका फागुन १३ का लागि छ।
नेकपा एमालेले पूर्वसर्त (पुस १०) अनुसार राष्ट्रपति आफ्नै दलले उठाएको उम्मेदवार हुनुपर्ने अडान लिइरहेका बेला कांग्रेसले एमालेसहितको ७ दलीय गठबन्धन भत्काएर पुरानै ब्युँताउन कसरत गरिरहेको हो।
यद्यपि यस विषयमा अहिले ठोस निर्णय भइसकेको छैन।
नेताहरुका अनुसार उच्चस्तरीय राजनीतिक सहमतिबाट प्याकेजमै टुंग्याउने तयारी छ।
‘सुरुमा माओवादीको धारणा बुझ्न आजको सामूहिक भेट भएको हो, भोलि सोमबार केही नयाँ निर्णय माओवादीले गरेको अवस्थामा हामी पुरानै अवस्थामा फर्कन्छौं,’ सभापति देउवानिकट स्रोतले भन्यो, ‘केही कम्प्रोमाइज गरेर भए पनि एक महिनाअघि गुमेका कुरा फिर्ता लिने अवस्थामा पुग्ने योजनामा छौँ।’
मंसिर ४ को चुनावमा ८९ सिट जितेर पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य छ। सुदुरपश्चिमबाहेकका सबै प्रदेशमा कांग्रेस सरकार बाहिर छ।
राष्ट्रपति निर्वाचनबाट कांग्रेसले कोर्स करेक्सनको नीति लिएको छ।
तर, प्रचण्डलाई प्रधानमन्त्री बनाएको एमालेले कांग्रेसको प्रस्तावलाई कसरी लिन्छ यसबारे निश्चित भइसकेको छैन।
कांग्रेसका नेताहरुले माओवादीसँग निरन्तर छलफल गरेर सशकार्यको कार्ययोजना तयार पार्ने समझदारी बनाएका छन्। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका लागि १० वा ११ गते सर्वदलीय बैठक तयारी गरेका छन्।
प्रतिक्रिया