कालापानीको भूमि थप अतिक्रमित हुन नदिन दार्चुलाको छाङ्रुमा नेपाली सेनाको शिविर राख्नुपर्ने सांसदले माग राखेका छन्।
दार्चुलाका सांसद गणेश ठगुन्नाले संसदीय समितिमा टिंकर र कालापानीको बीचमा अवस्थित यो स्थानमा सेना राख्नुपर्ने बताएका हुन्।
‘यो स्थान सामरिक महत्वको पनि छ,’ राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सीमा अतिक्रमणबारे मंगलबार आयोजना गरेको छलफलमा सांसद ठगुन्नाले भने।
सरकारले कालापानीमा थप भूमि अतिक्रमण हुन नदिन आवश्यक तयारी नगरेको उनको भनाइ थियो।
‘थप भूमि अतिक्रमण हुन जोगाउनुप¥यो। अहिले जहाँ भारतीय सेना बसेका छन्, त्यहाँबाट नेपाली भूमितर्फ थप १५ किमिसम्म गस्ती गर्छन्,’ उनले भने, ‘यो हिसाबले भोलि के होला?’
‘अहिले सदरमुकामबाट कालापानीतर्फ १०० किमिको दूरीमा एउटा मात्र सीमा चौकी छ, त्यतिले पुग्दैन,’ सांसद ठगुन्नाले भने, ‘अहिले सरकारले बोर्डर पोस्ट राख्ने भनेको छ। हरेक २०–२५ किमिमा एउटा सीमा चौकी हुनुपर्छ। त्यसले मात्रै थप अतिक्रमण हुनबाट रोक्न सकिन्छ।’
Shares

प्रतिक्रिया