पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएको १ महिना ७ दिन पुग्यो। संसद्बाट विश्वासको मत लिएसँगै प्रधानमन्त्रीले राजनीतिक मात्र नभई अन्तर्राष्ट्रिय सम्बन्ध र भेटघाटलाई पनि प्राथमिकतामा राखेका छन्।
यसैबीच सोमबार (१६ माघ) दिनभर प्रधानमन्त्री प्रचण्डको व्यस्त कार्यतालिका थियो। सहिद दिवसका औपचारिक कार्यक्रमदेखि अमेरिकी उपविदेशमन्त्रीसँगको शिष्टाचार भेटघाटसम्ममा प्रधानमन्त्री बिहानैदेखि व्यस्त देखिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ८ बजेअघि प्रायः औपचारिक भेटघाटका कार्यक्रम राख्ने गरिएको छैन। त्यसअघि आफ्ना नित्यकर्म र शारीरिक व्यायाममा व्यस्त हुने प्रधानमन्त्रीले सोमबार पनि ८ बजेपछि नै भेटघाट सुरु गरे।
सबै कार्यक्रम भ्याउनपर्ने चुनौती एकातिर हुँदैगर्दा सोमबार प्रचण्डलाई आफ्नो ड्रेसकोड ‘वस्त्र संहिता’को पनि ख्याल गर्नुपर्ने चुनौती थपिएको थियो। सोहीअनुसार उनी बिहानैदेखि फरक–फरक पहिरनमा विभिन्न कार्यक्रममा सरिक भए।
कहाँ कुन ड्रेस?
सोमबार प्रधानमन्त्रीको पहिलो भेटवार्ता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग भयो।
शाहसँग प्रधानमन्त्रीले छोटो कुराकानी गरे। मेयर शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार प्रधानमन्त्रीसँग करिब १५ मिनेट कुराकानी भएको थियो।
प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको शाहसँगको तस्बिरमा प्रधानमन्त्री प्रचण्ड नीलो सर्ट, खैरो कोट र रातो मफलरमा देखिन्छन्।
सरकारी निवासको भेटघाट कक्षमा प्रधानमन्त्री र मेयरबीच सहरी विकास र सुकुम्बासी बस्तीको समस्या समाधानबारे छलफल भएको जनाइएको छ।
त्यसपछि उनी लैनचौरस्थित सहिद स्मारकमा आयोजित अर्को कार्यक्रममा सहभागी भए। सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय पोसाकमा देखा परे। कालो टोपी, दौरा–सुरुवाल, वेस्ट कोट र कोटसहित रातो मफलरमा प्रधानमन्त्री प्रचण्ड बालुवाटारबाट लैनचौर पुगेका थिए।
शपथ ग्रहण समारोहमा सहभागी हुँदा नै प्रचण्डले लगाएको राष्ट्रिय पोसाकबारे चर्चा भयो। त्यसयता राष्ट्रिय समारोहमा सहभागी हुँदा प्रचण्ड दौरा–सुरुवालमा देखापर्ने गरेका छन्।
पुष्पगुच्छा र सम्मानसहित त्यहाँको कार्यक्रममा झण्डै एक घन्टा बिताएका प्रधानमन्त्री प्रचण्ड तुरुन्तै बालुवाटार फर्किए।
बिहान ९ बजेर ४० मिनेटमा अमेरिकी उपविदेशमन्त्रीसँगको भेटघाट तय भएको थियो।
दुईदिने नेपाल भ्रमणमा आएकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डसँगको भेटघाटमा प्रचण्ड पुनः अर्कै ‘ड्रेस’मा देखिए। नुल्यान्डसँगको भेटमा प्रधानमन्त्रीले कालो टोपी, सेतो सर्ट, रातो टाई र कोट–पाइन्ट लगाएका थिए।
कूटनीतिक भेटघाट भएकाले ‘प्रोटोकल’अनुसार प्रधानमन्त्रीले सो पहिरन लगाएको प्रधानमन्त्रीको सचिवालय बताउँछ।
नुल्यान्डसँगको शिष्टाचार भेटघाटमा दुई देशबीचको सम्बन्ध, शान्ति प्रक्रिया र भूराजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको थियो।
नुल्यान्डसँगको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड पार्टी बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय पुगे। बिहान ११ बजेका लागि पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको थियो।
पार्टी बैठकमा सहभागी हुँदा प्रधानमन्त्रीको पोसाकमा केही परिवर्तन भयो।
बैठकमा सहभागी हुँदा प्रचण्ड कालो टोपी, सेतो सर्ट, रातो टाई र कोट–पाइन्टसँगै स्विटर (जर्सी) मा देखिए। यो उनको सोही दिनको चौंथो ‘ड्रेस’ थियो। पार्टी बैठकमा उपस्थित हुँदा प्रचण्डले रातो मफलर भने लगाएका थिएनन्।
पार्टी बैठक सकिएपछि पनि प्रधानमन्त्रीको औपचारिक कार्यक्रम सकिएको थिएन।
सचिवालयका सदस्यसँग समन्वय गर्दै उनी जगडोलस्थित ‘राष्ट्रिय सहिद स्मारक’को अभिलेखीकरण तथा शुभारम्भ कार्यक्रमका लागि हुइँकिए।
जगडोलमा आयोजित सो कार्यक्रममा सहभागी हुँदा प्रचण्डले आफ्नो शरीरमा फेरि रातो मफलर थपे। पार्टी बैठककै ड्रेसमा रातो मफलर थपेर प्रधानमन्त्री प्रचण्ड सो कार्यक्रममा सहभागी भएका थिए।
जगडोलमा कार्यक्रम सकेर प्रधानमन्त्री प्रचण्ड सीधै सिंहदरबार हानिए।
सिंहदरबारमा दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो। मन्त्रिपरिषद् बैठक प्रचण्ड सोही मफलरसहितको ड्रेसमा उपस्थित भएका थिए।
कति सहज छ दिनचर्या?
प्रधानमन्त्री भएसँगै प्रचण्डलाई आफ्नो दिनचर्या र पहिरनमा ध्यान दिन भ्याइनभ्याइ नै छ। प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार बिहान ४ बजेदेखि नै प्रधानमन्त्रीको दिनचर्या सुरु हुन्छ।
‘प्रायःजसो बिहान ४ बज्दा उहाँ उठिसक्नुहुन्छ। लगत्तै नित्यकर्म सकेर शारीरिक व्यायाम गर्नतिर लागिहाल्नुहुन्छ’, शर्माले भने, ‘प्रधानमन्त्री बनिसकेपछि उहाँले पहिला खेल्ने गर्नुभएको टीटीचाहिँ अलिक कम भएको छ।’
अत्यन्तै महत्त्वपूर्ण र भेट्नैपर्ने बाहेक बिहान ८ बजेभन्दा अघि कुनै औपचारिक कार्यक्रम नराख्न प्रधानमन्त्रीले सचिवालयलाई निर्देशन नै दिएका छन्। ‘सामान्यतया बिहान ८ बजेपछि मात्र औपचारिक कार्यक्रम सुरु हुन्छ’, उनले भने, ‘त्यसअघि शारीरिक व्यायाम, पत्रपत्रिका र ब्रेकफास्टमा उहाँको समय जान्छ।’
यो कार्यकाल सुरु भएसँगै सबैभन्दा बढी चासो सिंहदरबारका लागि उनले दिएका छन्।
नियमितजस्तै सिंहदरबार पुग्ने भएपछि प्रचण्ड आफैँले सरकारी निवासमा अत्यावश्यक भन्दा बाहेकका भेटघाट नराख्न निर्देशन दिएको सचिवालय बताउँछ।
‘कहिलेकाहीँ उच्चस्तरीय भेटघाट र पोसाकसमेत ध्यान दिनपर्ने खालका भेटघाट हुँदा स्वतः दौडधुप बढ्छ,’ शर्माले नेपालखबरसँग भने।
प्रतिक्रिया