ad ad

राजनीति


नागरिकता पुनर्प्राप्तिपछि रविले फिर्ता गरे पुरानो राहदानी

नागरिकता पुनर्प्राप्तिपछि रविले फिर्ता गरे पुरानो राहदानी

फाइल तस्बिर


नेपालखबर
माघ १५, २०७९ आइतबार १७:२६, काठमाडौँ

रवि लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्ति गरेसँगै पुरानो नेपाली राहदानी फिर्ता गरेका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनर्प्राप्ति गरेसँगै रविले त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर पुरानो राहदानी फिर्ता गरेको उनका सचिवालयका एक सदस्य नवराज पाण्डेले नेपालखबरलाई जानकारी दिए।

यसअघि रविले जिल्ला प्रशासन काठमाडौंबाट २०५० फागुन १० गते नेपाली नागरिकता लिएका थिए।

तर, २०७० फागुन ९ गते उनले अमेरिकाको नागरिकता लिएपछि पहिलेको नागरिकता नेपाली कानुनअनुसार स्वतः निस्क्रिय भएका थियो।

तर उनले अमेरिकी नागरिक रहँदा रहँदै २०७२ जेठ १३ गते नेपाली राहदानी लिएका थिए। उनले त्यही राहदानी आइतवार फिर्ता गरेका हुन्।

रविले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको अवैध नागरिकताका आधारमा उक्त राहदानी लिएका थिए। सर्वोच्चको शुक्रबारको आदेशले नागरिकतासँगै उनको उक्त राहदानी पनि अवैध ठहरिएको थियो। अमेरिकी राहदानीमा आएका उनले नेपालबाट पनि निकालेपछि दुई देशका राहदानी थिए।

उनले सन् २०१४ फेबु्रवरी २१ (२०७० फागुन ९) मा अमेरिकाको नागरिकता प्राप्त गरेका थिए। अमेरिकी नागरिकता प्राप्त गरे पनि नेपाली नागरिकता त्यागेका थिएनन्।

नेपालमा दोहोरो नागरिकता लिन पाइने व्यवस्था छैन। तर रविसँग त्यतिबेला दुवै देशका नागरिकता थिए। 

लामिछानेले आफूले पहिलोपटक नेपाल भ्रमण गरेको भनी अध्यागमन विभागलाई दिएको निवेदनमा २०१६ अक्टोबर २ अर्थात् २०७३ असोज १६ उल्लेख गरेका थिए। तर २०७२ जेठ १३ मा अमेरिकाबाट नेपाल आई नेपाली राहदानी लिएको देखिएको तथ्य अदालतमा पेस गरिएको थियो।

अध्यागमन विभागको पत्रबाट उनी सन् २०१४ जुन ०५ अर्थात् २०७१ जेठ २२ मा नेपालमा आएको देखिएको छ। सूचना विभागको २०७४ चैत १ को पत्र अनुसार उनले प्रेस प्रतिनिधिको प्रमाणपत्र प्राप्त गरेका थिएनन्।

श्रम विभागको मिति २०७५ असार ५ गतेको पत्र अनुसार त्यस मितिसम्म रविले श्रम स्वीकृति लिएको देखिएको थिएन।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०७५ असार १४ को पत्रमा लामिछानेले के कस्तो भाषा प्रयोग गरी कार्यक्रम सञ्चालन गरेका थिए भन्ने उल्लेख गरिएको थियो।

२०७५ असार ६ गते अध्यागमन विभागलाई लेखेको पत्रमा श्रम अनुमति नहुँदै पनि आफूले वैधानिक रुपमा काम गरेको दाबी उनले गरेका थिए।

त्यसबेला उनले आफू जिम्मेवार नेपाली नागरिक भएको विवरण समेत पेस गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .