राजनीति


म्यानपावरका कर्मचारी डोलप्रसाद श्रममन्त्री बन्नासाथ विवादमा

म्यानपावरका कर्मचारी डोलप्रसाद श्रममन्त्री बन्नासाथ विवादमा

नेपालखबर
माघ ४, २०७९ बुधबार २०:९, काठमाडौँ

श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसका इन्टरनेसनल मार्केटिङ डाइरेक्टर डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त हुनासाथ विवादमा तानिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद डोलप्रसादलाई श्रम मन्त्रालयको जिम्मा दिएपछि स्वार्थ बाझिएको भन्दै उनको विरोध भएको हो। 

म्यानपावर कम्पनीका कर्मचारी डोलप्रसादले श्रमिकको हितमा काम गर्न नसक्ने भन्दै उनको विरोध भएको हो। डोलप्रसादले चर्को रकम असुलेर जापानमा श्रमिक पठाउँदै आएका थिए। उनैलाई रास्वपाले श्रम मन्त्रालयको जिम्मा दिएको छ। 

श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरुलाई नियमन गर्दै श्रमिकको हितमा काम गर्नुपर्छ। तर हिजो तिनै श्रमिकसँग रकम उठाउने र म्यानपावरमा काम गर्ने डोलप्रसादले त्यो जिम्मा पाएका छन्। 

उनी आबद्ध म्यानपावरले भदौमा पनि नेपाली श्रमिकलाई जापान पठाएको पाइएको छ। 

रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछाने उनको रेमिट्यान्स कम्पनीका ब्रान्ड एम्ब्यासडर हुन्। लामिछानेलाई एम्ब्यासडर बनाएका डोलप्रसादलाई रास्वपामा समानुपातिकमा खस आर्यतर्फ पहिलो नम्बरमा राख्दै सांसद बनाइएको थियो। 

रास्वपाले श्रम मन्त्रालय पाएपछि पार्टीभित्र वैदेशिक रोजगारका जानकार भन्दै डोलप्रसादलाई श्रममन्त्री बनाइएको थियो। उनी विवादमा आएसँगै श्रृष्टि म्यानपावर कम्पनीले अहिले वेबसाइट नखुल्ने बनाएको छ। मंगलबारसम्म उनको नाम वेबसाइटमै उल्लेख थियो र खुलिरहेको थियो। 

श्रममन्त्री भएपछि म्यानपावर कम्पनीमा जोडिएको भन्दै विरोध भएपछि वेबसाइट नखुल्ने बनाइएको छ। श्रृष्टि म्यानपावर कम्पनीको फेसबुक पेज भने अहिले पनि खुलिरहेको छ। नागरिकता विवादमा मुछिएका रवि लामिछाने सोही विषय छानबिन गरिरहेको मन्त्रालयमा र म्यानपावरका कर्मचारी डोलप्रसाद पनि सोही विषय जोडिएको श्रम मन्त्रालयको जिम्मेवारी पाउँदा दुवै विवादमा परेका हुन्। 

आफ्नो विरोध भएपछि डोलप्रसादले सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका छन्। 

१५ वटाभन्दा बढी पेसा र व्यवसायमा संलग्न रहेको डोलप्रसादले स्वीकार गर्दै आफ्नो स्वार्थ नबाझिने क्षेत्र नै नरहेको बताएका छन्। 

‘देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबाझिने त कुनै क्षेत्र नै छैन,’ डोलप्रसादले फेसबुकमा लेखेका छन्। 

कृषि फार्म, ट्राभल सर्भिस, सहकारी, इँटा उद्योग, रेमिट्यान्स कम्पनी, एजुकेसन कन्सल्टेन्सी, सेक्युरिटी सर्भिस, ट्रेकिङ सर्भिस, होटल व्यवसाय, क्याटरिङ व्यवसाय लगायतमा आवद्ध रहेको उनले बताएका छन्। 

साथीहरुले म्यानपावर कम्पनीको इन्टरनेसनल मार्केटिङ डाइरेक्टरको पद लेखिदिए पनि हटाउन भुलेको उनको जवाफ छ। म्यानपावर कम्पनीमा आफ्नो लगानी नभएको उनको दाबी छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad