राजनीति


सडकसम्बन्धी निकायबीच साझा संयन्त्र बन्ने

सडकसम्बन्धी निकायबीच साझा संयन्त्र बन्ने

नेपालखबर
माघ ४, २०७९ बुधबार २०:२४, काठमाडौँ

सडक सम्बन्धी निकायबीच साझा संयन्त्र बन्ने भएको छ। 

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं उपत्यकास्थित सडक निर्माणसँग सम्बन्धित निकायहरूबीच बसेको बैठकले संयन्त्र बनाउने निर्णय गरेको हो।

मन्त्रालय, स्थानीय निकाय र अन्य आयोजनाहरूले छुट्टाछुट्टै सडक निर्माण गर्ने गरेको तर कुनै एक निकायले मात्रै चाहेर सडकको गुणात्मक विकास हुननसक्ने अवस्थाबीच साझा संयन्त्र बनाएर अगाडि बढ्ने समझदारी भएको हो। 

बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्दवप्रसाद तिमल्सिनासहित सडक निर्माणसँग सम्बन्धित निकाय वा आयोजनाका दुईदर्जन भन्दा बढी प्रतिनिधिहरू सहभागी थिए। 

त्यसक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले सबै निकायबीच एउटा साझा संयन्त्र बनाएर समन्वयमा नै सडक निर्माण र सुधारको काम हुनुपर्ने बताए।

‘आ–आफ्नो काम गरौं तर समन्वयमा’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘खाल्डाखुल्डी छ, कुन निकायले बनाएको सडक हो थाहा छैन, सडक नबनाएको आरोप भौतिक पूर्वाधार मन्त्रालयलाई आउँछ।’

काठमाडौं महानगरका मेयर शाहले आफूहरु मन्त्रालयसँग समन्वय गरेर काम गर्न तयार रहेको र अवैध घरटहरा हटाउन सरकारको मद्दत चाहिएको बताए। 

त्यस्तै ललितपुर महानगर मेयर महर्जनले सार्वजनिक खरिद ऐन ०६३ लाई संशोधन गरेर नीति नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए।

सडक र समस्याको पहिचान गरेर कामलाई गति दिइने र हरेक महिनाको १५ गतेपछिको शुक्रबार दुई बजे यही निकायबीच अन्तरक्रियात्मक बैठक बस्ने सहमति भएको छ। 

यसअघि नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच पनि संयुक्त संयन्त्र बनाएर अगाडि बढ्ने निर्णय भैसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad