नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको मन्त्रालय टुंगो लगाएको छ। यसअघि एक मन्त्रालय लिएको माओवादीले मंगलबार थप तीन मन्त्री र एक राज्य मन्त्रीको टुंगो गरेको हो।
जसमा प्रदेश १, गण्डकी र लुम्बिनीबाट मन्त्री नियुक्त गरिँदा अरु चारवटा प्रदेशले भने अवसर पाएनन्।
माओवादी केन्द्रको भागमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी नियुक्त हुँदैछन्।
किराती र मोदी दुवै प्रदेश १ का सांसद हुन्। शर्मा लुम्बिनी प्रदेशकी हुन्। माओवादीको भागमा परेका ६ मन्त्रालयमध्ये प्रदेश १ बाट २ जना र गण्डकी प्रदेशबाट प्रधानमन्त्रीसहित २ जना मन्त्री बनेका छन्।
किराती प्रतिनिधिसभामा भोजपुरबाट निर्वाचित भएका हुन्। मोदी प्रदेश १ कै मोरङ–४ बाट निर्वाचित भएका हुन्।
यस्तै, मधेश प्रदेशबाट महिन्द्र राय यादवको नाम चर्चामा थियो। बागमतीबाट सुवोध सापकोटा र हितबहादुर तामाङको नाम चर्चामा थियो।
यद्यपि उनीहरु अहिले मन्त्री बन्न पाएनन्। गण्डकी प्रदेशबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधित्व गरेका छन्।
माओवादीबाट सञ्चार मन्त्री बनेकी शर्मा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्छिन्। नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै दाङ क्षेत्र नम्बर २ बाट उनी निर्वाचित भएकी हुन्।
प्रदेश १, लुम्बिनीबाट मन्त्री बनाउँदा माओवादी केन्द्रले बागमती, कर्णाली र सुदूरपश्चिमबाट कसैलाई मन्त्री बनाउन सकेन।
प्रतिक्रिया