ad ad

राजनीति


मनोनीत सांसद विमलालाई परेको त्यो चिठ्ठा, जसले उनलाई परराष्ट्रमन्त्री बनायो

मनोनीत सांसद विमलालाई परेको त्यो चिठ्ठा, जसले उनलाई परराष्ट्रमन्त्री बनायो

फाइल।


नेपालखबर
माघ ३, २०७९ मंगलबार ११:३३, काठमाडौँ

राष्ट्रिय सभाकी सांसद विमला राई पौड्यालका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसँगको निकटता फलिफाप भएको छ। पदावधि सकिन एक वर्ष बाँकी छँदा उनले परराष्ट्र जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सौभाग्य प्राप्त गरेकी छन्। 

सांसद राईलाई एमालेले परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन लागेको हो। उनलाई पाँच वर्षअघि राष्ट्रपतिबाट मनोनित हुने कोटामा राष्ट्रिय सभा सदस्य बनाइएको थियो। 

जानकारी अनुसार, नेदरल्याण्डको इन्ष्टिच्युट फर सोसल साइन्सबाट ‘विकास अध्ययन’ मा विद्यावारिधी सकेर आएपछि उनको एमालेसँग निकटता बढेको हो। त्यसैक्रममा एमालेले उनलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाएको थियो। 

विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उनी राष्ट्रपति भण्डारीका तीन निजी सचिवमध्ये एक निजी सचिवको जिम्मेवारीमा थिइन्। राष्ट्रिय योजना आयोगको सदस्य भइसकेको व्यक्ति राष्ट्रपतिको निजी सचिव बनेपछि बौद्धिक बृत्तमा उनी आलोचित पनि भएकी थिइन्।  

तर, निजी सचिव रहेकै बेला उनलाई राष्ट्रपति भण्डारीले पाँच वर्षअघि राष्ट्रिय सभा सदस्य मनोनित गरिन्।  

संविधान सभाबाट संविधान जारी भएपछि २०७४ मा पहिलो पटक बनेको राष्ट्रिय सभाको निर्माण भयो। त्यसक्रममा चिठ्ठा प्रणालीबाट राष्ट्रिय सभाका सदस्यहरुको पदावधि निर्धारण गरिएको थियो। 

चिठ्ठा प्रणालीबाट पहिलो चरणका राष्ट्रिय सभा सदस्यहरुको  पदावधि निर्माण गरिँदा ६ वर्षे कार्यकाल तय हुने एक तिहाई राष्ट्रिय सभा सदस्यमा उनीपनि परिन्। बाँकीमध्ये एक तिहाईको दुई वर्ष र थप एक तिहाईको चार वर्ष तय भएको थियो। 

चिठ्ठाका क्रममा ‘भाग्यमानी’ ठहरिएकी उनको भाग्य कति बलियो रहेछ भने ६ वर्ष कार्यकाल तय भएकै कारण परराष्ट्रजस्तो शक्तिशाली र आकर्षक मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्राप्त गरिन्। चिठ्ठाका क्रममा यदि उनको कार्यकाल दुई वा चार वर्ष तय भएको हुँदो हो त उनलाई परराष्ट्रमन्त्री बन्ने अवसर प्राप्त हुने थिएन।

आज मन्त्रीमा नियुक्त भएसँगै नेपालको इतिहासमा तेस्राे महिला परराष्ट्रमन्त्री हुनेछिन्। यसअघि २०६६ मा माधव नेपाल प्रधानमन्त्री रहेका बेला नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला पहिलो महिला परराष्ट्रमन्त्री बनेकी थिइन्। गिरिजाप्रसाद काेइराला प्रधानमन्त्री बनेका बेला २०६३ मा साहना प्रधान परराष्ट्रमन्त्री बनेकी थिइन्।

स्मरणीय छ, प्राय मुलुकहरुमा गृह, परराष्ट्र, अर्थ, रक्षा जस्ता महत्वपूर्ण मन्त्रालय त्यस्ता व्यक्तिलाई दिने प्रचलन छ, जसले भविष्यमा मुलुक हाँक्ने सम्भावना बोकेका हुन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .