प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारको मन्त्रिपरिषद्लाई आजै (सोमबार) पूर्णता दिने बताएका छन्।
सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँच घण्टा लामो वार्तापछि बालकोटबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।
बिहान साढे ९ बजे बालकोट पुगेका उनले पौने ३ बजे बाहिरिने क्रममा मन्त्रिपरिषद् टुंगिने बताएका हुन्। ‘आजै टुंगिन्छ,’ उनले भने, 'हाम्रो कुरा भएको छ।'
प्रचण्डले ओलीसँग मन्त्रिपरिषद् र सभामुख निर्वाचनसहितका विषयमा लामो छलफल गरेका छन्।
गत पुस १० गते एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त उनले पुस २६ मा विश्वासको मत लिएका थिए।
तर पनि उनले अझैसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। अहिले उनीसहित ८ सदस्यीय क्याबिनेट छ। अझै १७ वटा मन्त्रालय खाली छन्।
१० पुसमा ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा एमालेबाट ५, माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट १ र जनमत पार्टीबाट १ जनालाई लिएर ८ सदस्य मन्त्रिमण्डल बनाएका थिए।
बाँकी १७ वटा मन्त्रालयको बाँडफाँटका विषयमा एमाले अध्यक्ष ओलीसँग मोडालिटी बनाइएको हो।
Shares

प्रतिक्रिया