सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध नेपाल र सुखी नेपाली गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बताएका छन्।
बिहीबार चितवनकाे सौरहामा हात्ती महोत्सवको सुरुवात गर्दै अध्यक्ष प्रचण्डले आन्दोलन विकासको कुरामा खुट्टा तानातान गर्न नुहने बताए। इतिहासका धेरै कुरा, आन्दोलन परिवर्तनका लागि नेपालीहरु एकजुट भए पनि विकास र समृद्धिका लागि एकजुट हुन नसकेको उनकाे भनाइ थियाे।
‘हामीलाई इतिहासले त धेरै दियो, हाम्रो संस्कृति र परम्पराले पनि गौरव गर्ने चिज धेरै दियो। हामीले परिवर्तनका ठूल्ठूला घोषणा पनि मिलेर गर्यौँ। तर, हामीले अझै पनि गर्न नसकेको कुरा सबै मिलेर विकास नै हो’, उनले भने, ‘विकासको कुरामा फेरि खुट्टा तानतानको अवस्था आउने हो कि भन्ने चिन्ता देखिन्छ।’
अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि सम्पूर्ण नेपालीहरु एकजुट रहेको दावी गरे। ‘हामी हाम्रो इतिहासमा गौरव गर्छौँ, संस्कृतिमा गौरव गर्छौँ, हामी हाम्रो राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डताका निम्ति सबै एक छौँ’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘हामी हाम्रो भूमि कसैले एक इन्च पनि मिचेको सहन सक्दैनौँ। हामी पनि एक इन्च जमिन कसैको मिच्दैनौँ।’
उनले नेपालीहरुको आफ्नै संस्कृति मूल्य मान्यता र मनोविज्ञान भएको र त्यही अनुसार अगाडि बढ्न चाहेको बताए। उनले नेपालका गौरवशाली इतिहासलाई स्मरण गर्दै विकासको लक्ष्यमा गति दिन संकल्प र प्रतिवद्धता गर्ने बेला आएको बताए। उनले महोत्सवले आर्थिक विकास र पर्यटनको विकासमा सकरात्मक सन्देश दिने बताए।
उनले चितवनको विकासका लागि आफू लागिपरेको बताए। उनले आफूले अवको दशकलाई विकास र समृद्धिको दशकका रुपमा अगाडि बढाउन आह्वान गर्दै आएको बताए। उनले नेपाल भ्रमण वर्षले नेपाल आर्थिक विकासमा अगाडि बढ्दैछ भन्ने सकरात्मक सन्देश विश्वभर पुगेको दावी समेत गरे।

प्रतिक्रिया