राजनीति


प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे माधव नेपाल, सरकारलाई समर्थन एजेन्डा

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे माधव नेपाल, सरकारलाई समर्थन एजेन्डा

प्रधानमन्त्री र माधव नेपाल सिंहदरबारमा भेट गर्दै। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस २०, २०७९ बुधबार १४:५७, काठमाडौँ

सरकारलाई समर्थन गर्ने कुरामा अनिर्णित रहेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका छन्। 

बुधबार पार्टीनिकट युवा संघको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गरेपछि उनी प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन्।

त्यहाँ दुई नेताबीच सात दलीय गठबन्धन सरकारलाई समर्थनबारे कुरा हुने स्रोतले जनाएको छ। समाजवादीको चार दिन लामो बैठक सरकारमा जाने नजाने केही निर्णय गरेको छैन। 

कांग्रेस नेतृत्वको तत्कालीन पाँच दलीय गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्दा प्रचण्डले आफूसँग कुनै सल्लाह नगरेको गुनासो नेपालले गर्दै आएका छन्। 

समाजवादीले आफूलाई औपचारिक रुपमा कुनै प्रस्ताव नआएकाले अहिले नै सरकारमा जानेबारे कुनै निर्णय नगरेको जानकारी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बताएका थिए। 

बुधबारको सम्बोधनमा नेपालले प्रधानमन्त्री प्रचण्डको अनुहार हेरेर मात्रै सरकारलाई समर्थन गर्न नसकिने बताएका थिए। यति भनिसकेपछि उनी प्रचण्डसँग वार्ताका लागि सिंहदरबार छिरेका हु्न्। 

'अहिले एकीकृत समाजवादी त अलमलमा पर्‍यो। सरकारलाई समर्थन र विरोधको कुरा पनि गरेन भनिरहेका छन्', उनले भने, 'पिक्चर क्लियर नभएसम्म हामी सरकारमा जाँदैनौँ। यो सरकारको नीति तथा कार्यक्रमबारे हामी जानकार नै छैनौँ, हामीलाई एक वचन सोधिएको पनि छैन।'

उनले न्यूनतम् साझा कार्यक्रम नआएसम्म सरकारलाई समर्थनबारे नसोचिने बताएका छन्। 

'प्रचण्डको अनुहार हेरेर मात्रै समर्थन गर्न सकिँदैन। २६ गतेसम्म हामीले निर्णय गरे पुगेन र?', उनले भनेका थिए, 'कसै कसैलाई सरकारमा जाने हतार छ। तर सरकार बनाउँदा हामीलाई सोधेकै छैन। नीति कार्यक्रममा पनि हामीलाई सोधेको छैन। तर पनि केहीलाई सरकारमा जाने हतार छ। हामी पुस २६ गतेअगाडि केही निर्णय गर्दैनौँ।'

मंसिर ४ को निर्वाचनमा समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको छ। समानुपातिकतर्फ थ्रेस होल्ड नकटाएपछि समाजवादी राष्ट्रिय दल बन्न सकेन। 

कांग्रेस र माओवादीको साथ लिएर अघि बढिरहेको समाजवादी तत्कालीन गठबन्धन टुटेपछि बिलखबन्दमा छ। यस्तोमा उसले जनता समाजवादी पार्टीसँग एकता पहल गरिरहेको छ।

गठबन्धन टुटेपछि समाजवादीले अब तत्कालै माओवादीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ। एमालेसँग पनि एकताको चर्चा रहेका बेला समाजवादीको बैठकले तत्कालै कसैसँग एकता सम्भावना अघि नबढेको पनि ठहर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .