गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खुमलटारबाट बुधबार साँझ सरकारी निवास बालुवाटार सर्दैछन्।
अचानक सत्ता गठबन्धन टुटेपछि सरकार गुमाएका कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार बालुवाटारबाट धुम्बाराही सरिसकेका छन्। ज्योतिषीलाई साइत हेराएर देउवा बुधबार बिहान सरकारी निवास धुम्बाराहीबाट भाडाको घरमा सरेका हुन्।
देउवाले सरकारी निवास छाडेसँगै नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले बालुवाटार सर्ने तयारी अघि बढाएका छन्। प्रचण्डले पनि ज्योतिषी हेराएरै बुधबार साँझ ५ बजेको समय जुराएका हुन्।
प्रचण्ड र देउवाले घर सर्ने साइत हेरिदिने ज्योतिष भने एउटै हुन्। ज्योतिष टीकाराम घिमिरेसँग साइत हेरेर देउवा बालुवाटारबाट निस्किएका छन्। उनैले प्रचण्डका लागि सरकारी निवास सर्ने उत्तम साइत हेरेका हुन्।
ज्योतिष घिमिरेका अनुसार उनलाई प्रचण्ड सचिवालयबाट साइत हेर्नका लागि फोन आएको थियो।
‘उहाँ(प्रधानमन्त्री)को सचिवालयबाट मलाई फोन आयो,’ घिमिरेले नेपालखबरसँग भने, ‘म खुमलटारमा प्रधानमन्त्रीसँगै बसेर साइत तय गरेको छु।’
काल, बेला, बार सबै हेर्दा बुधबार साँझ ५ बजेका लागि साइत जुरेको उनले बताए। ‘काल, बेला, बार सबै हेरेर साइत जुराउनपर्ने हुन्छ। साँझ ५ बजेको साइत उपयुक्त निस्कियो,’ उनले भने, ‘मैले साइत जुराइदिएर खुमलटारबाट हिँडे।’
पेशा नै यही भएका कारणले जसले बोलाए पनि आफ्नो काम गर्ने उनी बताउँछन्। ‘मलाई देउवा, प्रचण्ड वा लामिछाने जसले भने पनि जान्छु। यो मेरो पेशागत धर्म हो। आज देउवाको पनि मैले नै साइत हेरेको हुँ। मैले हेरेकै साइतमा देउवा बालुवाटारबाट सर्नुभएको छ,’ उनले भने।
निवर्तमान देउवा बूढानिलकण्ठस्थित निजी निवास मर्मत सम्भार भइरहेको कारण धुम्बाराहीमा भाडाको घरमा बसेका छन्। प्रचण्ड निजी निवास छाडेर बुधबार साँझ बालुवाटार सर्न लागेका हुन्।
प्रचण्डले यसअघि नै बालुवाटारमा महँगो सामानहरु खरिद नगर्न निर्देशन दिइसकेका छन्।
Shares

प्रतिक्रिया