राजनीति


दाहाल सरकारमा एकहप्ताभित्र भागबण्डा टुंगो, पुस २५ गते नै विश्वासको मत

दाहाल सरकारमा एकहप्ताभित्र भागबण्डा टुंगो, पुस २५ गते नै विश्वासको मत

नेपालखबर
पुस १२, २०७९ मंगलबार २३:३७, काठमाडौँ

पुष्पकमल दाहाल प्रचण्डको सरकारले पुस २५ गते विश्वासको मत लिने भएको छ।

सोमबार शपथ लिएका प्रधानमन्त्री दाहालले सोमबार बेलुकाको मन्त्रीपरिषद् बैठकबाट संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए। 

सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गरेकी छन्। ४ मंसिरको प्रतिनिधि सभा चुनावबाट नयाँ सरकार बनेपछि पहिलो संसद बैठक पुस २५ गते सोमबार  दिउँसो १ बजे बस्नेछ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार २५ गतेकै बैठकमा विश्वासको मत लिने तयारी छ। 

संविधानको धारा ७७ अनुसार निर्वाचनपछिको सरकारले पहिलोपटक विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वास प्रस्ताव राख्न पाइने छैन।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थन लिएर प्रचण्ड आइतबार संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए।

उनले एकमहिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ। 

‘पछिल्लो राजनीतिक घटनाक्रम, विकसित परिस्थिति सबैलाई विश्लेषण गर्दा पहिलो संसद बैठक बसेकै दिन विश्वासको मत लिने तयारी छ’,  प्रधानमन्त्री निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘त्यसदिन नभ्याउने अवस्था भए लगत्तै लिन्छौं।’

ढिलो गर्दा माहोल परिवर्तन हुने, दृश्य फरक हुनसक्ने विश्लेषण प्रधानमन्त्रीको टीमले गरेको छ।

प्रचण्डले यो अवधिमा गठबन्धनबीच मन्त्रालय र अन्य शक्तिशाली निकायको भागबण्डा टुंगो लगाउने छन्।

त्यसका लागि मंगलबार पनि केही नेताहरूसँग उनले छलफल गरे।

बुधबार गठबन्धनका शीर्ष नेताको छलफल राखिएको छ। यहि हप्ताभित्र गठबन्धनले मन्त्रालय भागबण्डा सकाउने एमाले उपमहासचिव विष्णु रिमालले बताए।

‘बढीमा एकहप्ताभित्र मन्त्रालयको भागबण्डा टुंगो लगाउँछौं’, रिमालले नेपालखबरसँग भने।

सोमबार शपथ लिएपनि मन्त्रालय टुंगो नलागेका ४ मन्त्रीको बुधबार मन्त्रालय टुंगो लगाउने तयारी भएको मन्त्री राजेन्द्र राइले जानकारी दिए।

यसैबीच मंगलबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन्।

यस्तै पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग उनका सम्धी सोमप्रसाद पाण्डे निवासमा छलफल गरेका छन्।

पौडेलले नेपाललाई मिलेर जान र सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad