प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरूको सवारी साधनका लागि साइकलको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।
सरकारले अर्बौंको गाडीहरू खरिद गर्न लागेको समाचार बाहिर आएको उल्लेख गर्दै उनले वर्तमान सरकारका मन्त्रीहरू र सांसदहरू पनि जेन–जी पुस्ताका भएकाले उनीहरूका लागि साइकलको व्यवस्था गर्न उपयुक्त हुने जिकिर समेत गरे।
बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद विश्वकर्माले भने, ‘ हाम्रो नयाँ सरकारले नयाँ काम भनेको अब मन्त्री, सांसदहरु जेन–जी हुनुहुन्छ। साईकल किन्नु प¥यो अब। साइकल किनेर सरर हिन्ने। साइकलमा जाने, साईकलमा नै आउने। बरु चन्दाबाट पुनर्निर्माण भए सिंहदरबार पनि यहीँबाट निर्माण होस्। म यही भन्न चाहन्छु हाम्रो सरकारलाई।’
उनले अर्बौंको गाडी जलाएर खरानी बनाउनेहरूले फेरि अर्बौंको गाडी खरिद गर्ने तयारी गरेको भन्दै आपत्ति जनाए। नागरिक सिटामोल खान नपाएर मर्नुपर्ने अवस्था रहेको बेला सरकारले पनि सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्न लागेको भन्दै आक्रोश समेत व्यक्त गरे।
सांसद विश्वकर्माले भने, ‘सुशासनको वैशाखीमा अडिएको हाम्रो सरकारले अर्बौंको गाडीहरू किन्दैछ भन्नेकुराहरू आईराखेको छ। अर्बौैंको गाडीहरू जलाएर खरानी बनाएको छ। र फेरि अर्बौंको गाडी किन्दैछ भन्ने खबरले सनसनी पैदा गराएको छ। आज सुकुम्बासीहरु खाना नपाएर तडपीरहेका छन्। सिटामोल नपाएर मर्नु परिराखेको छ। ओत लाग्न नपाएर बिरामी परिरहेका छन्। यो अवस्थालाई नहेरेर आफ्नो सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्दैछ। यो बिडम्बना हो।’
सांसद विश्वकर्माले सरकारले सुशासनको कुरा गरेपनि सोही अनुसारको व्यवहार देखाउन नसकेको जिकिर पनि गरे।
Shares

प्रतिक्रिया