नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुमा आठ सदस्यीय मन्त्रिमण्डल बनाएका छन्।
ठूलादेखि साना दलसम्मलाई भाग लगाउँदा प्रचण्ड नेतृत्वको क्याबिनेटमा सुरुमै तीनजना उपप्रधानमन्त्री भएका छन्।
एमाले उपाध्यक्ष उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।
प्रचण्ड क्याबिनेटमा पौडेललाई अर्थमन्त्री, श्रेष्ठलाई भौतिक र लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी मिलेको छ।
उनीहरुले सोमबारै राष्ट्रपतिको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबारमा पदस्थापन पनि गरिसकेका छन्।
सोमबारै सात दलीय गठबन्धनबाट मन्त्रीको जिम्मेवारी पाएका चारजनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ त लिएर तर उनीहरुले न मन्त्रालय पाए न पदभार ग्रहण नै गरेर काम थाल्न पाए।
प्रचण्डलाई प्रधानमन्त्री बनाउने आइतवारको हतार हतारको निर्णयका कारण सत्ता गठबन्धनले मन्त्रालय भागवण्डा मिलाउन सकेन। त्यहीकारण शपथ लिएका मन्त्रीहरु राष्ट्रपतिको कार्यालयबाट सिंहदरबार छिरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर गर्नुपर्यो।

प्रम कार्यालयमा हाजिर गरेका उनीहरुले पहिलो क्याबिनेट बैठकमा भाग लिए विनाविभागीय मन्त्रीका रुपमा।
यसरी मन्त्री भएर पनि अलपत्र अवस्थामा परेकाहरुमा नेकपा एमालेबाट धनकुटाका राजेन्द्र राई, बारा-३ की ज्वालाकुमारी साह र बैतडीका दामोदर भण्डारी छन्।
त्यस्तै अन्तिम समयमा सरकारमा जान इन्कार गरेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारमा समानुपातिक सांसद अब्दुल खानलाई मन्त्री बनाएको छ।
जनमतले मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट जितेको थियो। समानुपातिकबाट ५ सिट जितेको जनमतको प्रतिनिधित्व समानुपातिककै सांसद खानले सरकारमा गरेका छन्।
राउतले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट्दा पनि कृषि मन्त्रालय मागेका थिए। उनले मधेशमा कृषकका लागि आन्दोलन गरेकाले आफूहरुका एजेन्डा स्थापित गर्न पनि उक्त मन्त्रालय खोजेका थिए।
आफूले मागेको मन्त्रालय नपाउने अवस्था आएपछि राउतले अन्तिम समयमा खानलाई सरकारमा पठाए। सात दलीय सत्ता गठबन्धनले खानलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति गरेको छ।
सोमबार सात दलको बैठकपछि अध्यक्ष राउतले पनि आफूहरुले उद्योग मन्त्रालय लिने बताएका थिए। तर शीतल निवासमा शपथ लिएपछि खानले उद्योग मन्त्रालयमा पुगेर शपथ लिन पाएनन्। उनलाई शपथ गराउँदा पनि विनाविभागयी मन्त्रीको हैसियत दिइयो।
गठबन्धनमा सहमति भएर पनि खानले शीतल निवासबाट सिंहदरबार पुगेर आफ्नो मन्त्रालयमा शपथ नलिई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर गर्नुपर्यो।
अर्कातिर एमालेबाट उपप्रधान तथा अर्थमन्त्री पौडेलेसँगै शपथ लिएका अन्य तीनजना मन्त्रीले पनि सोमबार पदभार ग्रहण गर्नै पाएनन्। उनीहरु तीनैजना प्रधानमन्त्रीको कार्यालयमा हाजिर गरेर मन्त्रिपरिषद् बैठकमा सहभागी भए।

जसअनुसार एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले सोमबारै मन्त्रीको शपथ लिएका छन्।
एमालेले पहिलो चरणमा सरकारमा पठाएकमध्ये धनकुटाका राई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने बताइएको थियो। तर उनले पनि शपथ लिएर पदभार ग्रहण गर्न पाएनन्।
अर्की विनाविभागीय मन्त्री साह मंसिर ४ को निर्वाचनमा बारा क्षेत्र नम्बर ३ बाट विजयी भएकी थिइन्। माओवादीबाट आएर मन्त्री बन्ने अवसर पाएकी उनले पनि प्रधानमन्त्रीको कार्यालयमा हाजिर गरिन्।
तीन उपप्रधानमन्त्रीहरुले पदवहाली गरेर आफ्ना कयौँ योजना समेत सार्वजनिक गरिरहँदा उनीहरु सिंहदरबारमा अलपत्र झैँ देखिएका छन्।
बैतडीबाट लगातार तेस्रो जित निकालेका भण्डारी पनि सोमबारदेखि नै काम थाल्नबाट बञ्चित भए। मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र बहादुर कुँवरलाई पराजित गरेका उनी सोमबार प्रधानमन्त्रीको कार्यालयमा हाजिर भए।
सत्ता गठबन्धनले भागवण्डा मिलाउन अझै केही दिन लाग्न सक्ने अवस्था छ। मन्त्रीहरुले जिम्मेवारी नपाएको अवस्थामा बालुवाटारस्थित सरकारी निवास खाली नभएकाले प्रधानमन्त्री प्रचण्ड आफैंलाई समस्या भएको छ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घर मर्मत भइरहेको छ। देउवा अहिले अर्को भाडाको घर खोजिरहेका छन्। यसको अफ्ठ्यारो खुमलटारमा प्रधानमन्त्री प्रचण्डलाई परेको छ।
Shares

प्रतिक्रिया