ad ad

राजनीति


कांग्रेस र माओवादीको आ–आफ्नै योजना, वान टु वान वार्तामा सहमति नभए के होला?

कांग्रेस र माओवादीको आ–आफ्नै योजना, वान टु वान वार्तामा सहमति नभए के होला?

फाइल तस्बिर


सागर न्यौपाने
पुस ९, २०७९ शनिबार २३:२७, काठमाडौँ

आइतबार बिहान प्रधानमन्त्री एवम् नेपाली  कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच 'वान टु वान' छलफल सहमतिमा नपुगे नेपाली राजनीतिले नयाँ मोड लिने भएको छ।

शनिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पहिला कसले सरकारको नेतृत्व गर्ने विषयमा सहमति जुट्न नसक्दा नेताहरू त्यसै उठे।

स्रोतका अनुसार निकै थोरै बोलेका प्रधानमन्त्री देउवाले आफ्नै नेतृत्वको सरकारको निरन्तरतामा जोड दिएका छन्।

जसले गर्दा निर्णायक भनिएको बैठक फेरि आइतबार बस्ने बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार साँझ ५ बजेसम्म दलहरुलाई बहुमत (१३८) सांसदकाे समर्थन ल्याउने समय दिएकी छन्।

तर राष्ट्रपतिले दिएकाे समयसीमाभित्र सहमति नजुटे थप समय माग्ने निष्कर्षमा पनि गठबन्धन पुगेको छ।

देउवालाई भेटेका कांग्रेसका एक पदाधिकारीले भने नाटकीय परिवर्तन नभए देउवाकै पक्षमा सहमति जुटाउने प्रयास भएकाे छ।

'आज रातभर नाटकीय परिवर्तन भए अर्कै हो नत्र कांग्रेस सभापति देउवाजी नै पहिलो कार्यकालको प्रधानमन्त्री बन्नुहुनेछ, त्यसमा प्रचण्डलाई कन्भिन्स गराउन भोलि फेरि पहल हुन्छ,' देउवानिकट ती पदाधिकारीले नेपालखबरसँग भने, 'अब त प्रचण्डजीको बार्गेनिङ गर्ने अस्त्र पनि सकियो, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्ड प्रधानमन्त्री बन्ने चान्स छैन भनिदिएका छन्।'

बालुवाटारमा देउवाले कांग्रेस नेतृत्वमै सरकार बनाउने अडान राख्नुकाे मुख्य कारण पनि यही हो।

'अब कांग्रेस नेतृत्वमै सरकार बनाउन लाग्या छु भनेर हामीसँग भन्नुभयाे,' ती नेताले भने।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार सभापति देउवालाई माओवादीबिनै बहुमत पुग्ने हिसाब पनि सुनाइएको छ ।

'राष्ट्रपतिले सरकार बनाउने बहुमत सांसदको समर्थन पेश गर्न दिएको समय आइतबार साँझ ५ बजेबाट सकिँदै छ,' ती नेताले थपे, 'अब यो समय गुजार्ने र ७६ (३) अनुसार ठूलो दलको हैसियतमा सरकार बनाउने, मत लिने एउटा विकल्प र सरकार बनाउन बहुमत सांसदको समर्थन जुटाउने समय थप माग्ने अर्को विकल्पबारे पनि सभापतिसमक्ष सुझाव दिएका छौं,’'   

माओवादी-एमाले, जसपा र नेकपा एकीकृत समाजवादीबिनै पनि बहुमत पुर्‍याउन सकिन्छ भन्नेमा काङ्ग्रेस छ। ऊसँग ८९, राप्रपा १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४ र एकजना स्वतन्त्र सांसद जोड्दा १३९ हुन्छ।

यही कुरा सभापति देउवालाइ भनेपछि उनी आफ्नाे अडानमा बसेका हुन्। 'यसरी सरकार बनाउँदा राष्ट्रपति र प्रदेशका मुख्यमन्त्री बनाउन सकिँदैन, याे कुरा सभापतिजीलाई थाहा छ,' ती नेताले भने, त्यही भएर आइतबार अन्तिमपटक प्रचण्डलाई फकाउने कोसिस हुनेछ,'

कांग्रेसले अनावश्यक अडान राखेर परिस्थिति गिजोलेको माओवादी महासचिव देव गुरुङले गुनासो गरे।

'अझै डेडलक छ, सहमति भएको छैन, भोलि लास्ट आवरसम्म सहमतिको प्रयास गर्नुपर्‍यो,' गुरुङले भने, 'काङ्ग्रेसले मानिहाल्ने संभावना कम हुँदै गएको छ।'

उनका अनुसार देउवा आफैं पहिलो सरकारको नेतृत्व गर्न कसिएपछि मिलेको कुरा पनि सहमति हुनबाट रोकियो।

सत्ता गठबन्धनका सहभागी नेता चित्रबहादुर केसीका अुनसार कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच २-२-१ वर्ष सरकारको नेतृत्व गर्ने विषयमा लगभग सहमति छ। तर सुरुको नेतृत्व कसेले गर्ने भन्ने विषयमा हलो अड्किएको उनले बताए।

यस्ताे छ माओवादी प्लान बी
माओवादीका अर्का नेताका अनुसार कांग्रेसले अड्को थाप्नुको मुख्य कारण भनेकै पहिलो सरकारको नेतृत्व नदिने भनेको हो।

'करिब-करिब कांग्रेसले हामीलाई पहिलो सरकारको नेतृत्व नदिने कुरा गर्‍यो,' ती नेताले नेपाललखबरसँग भने, ' अब भोलि १० बजे अध्यक्ष प्रचण्ड र देउवाबीच वान टु वान वार्ता हुन्छ, त्यसपछि माधव नेपालसहित तीन  नेताको छुट्टै वार्ता भएपछी त्यतिबेला सोलुसन निस्के निस्किन्छ, नत्र नयाँ कोर्समा जान्छ।'

कसले गर्‍यो प्रचण्डलाई ३ वर्ष प्रधानमन्त्री बन्ने प्रस्ताव
माओवादीका नेताहरूका अनुसार गठबन्धनबाट पहिलाे २ वर्ष प्रधानमन्त्री बन्न नपाए पनि प्रचण्डलाई ३ वर्ष सरकारको नेतृत्व गर्न प्रस्ताव छ।

तर, गठबन्धन छोड्नुपर्ने सर्त छ। यही सर्तका कारण प्रचण्डले गठबन्धन छोड्न चाहेका छैनन्। माओवादीका एक पदाधिकारीले भने अनुसार अनौपचारिक प्रस्ताव भएकोले विश्वास गर्न सकिएको छैन।

'इन्फरमल प्रस्ताव हो, २ पक्षीय वार्ता टोली बनाएर छलफल गरेको विषय नभएकोले मानिहाल्ने सम्भावना भएन,' ती पदाधिकारीले भने, 'गठबन्धन ब्रेक गराउने कुरा मात्र हो कि जस्तो पनि देखिन्छ।'

माओवादी भोलि पालो पाउनेमा विश्वस्त छैन। 'भोलि प्रधानमन्त्री बनाउँछ नै भन्ने बलियो आधार पनि छैन,' उनले थपे, ' सरकार त जसरी पनि दिनुपर्छ, त्यसबेला को-को मिलेर सरकार बनाउने? यसको डिटेल भावी प्लान नभइ गठबन्धन भत्काउने कुरा मात्र स्वीकार हुँदैन।'

माओवादी महासचिव गुरुङले पनि कांग्रेसले प्रधानमन्त्री नदिएको अवस्थामा सरकार बन्नै नसक्ने अवस्था रहन नदिने बताए।

'सरकारविहीनतामा देशलाई  राख्न सक्दैनौं, अर्को विकल्प दिएर सरकार दिन/ बनाउन तयार छौँ,' गुरुङले भने, 'सरकार दिने कुरामा बाधक नबनी नयाँ कोर्स अगाडि बढाउछौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .