संघीय संसद् सचिवालयले बिहीबार मध्यान्ह १२ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको छ।
मंसिर ४ को निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरुले बिहीबार नै शपथ लिँदैछन्।
उक्त शपथअघि संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मध्यान्ह १२ बजे बस्ने गरी प्रतिनिधिसभामा आएका १२ दलको सर्वदलीय बैठक बोलाएका हुन्।
उक्त बैठकमा सांसदहरुको शपथ, प्रतिनिधिसभाको बैठक सञ्चालनसहितका विषयमा संसद सचिवालयले ब्रिफिङ गर्ने भएको प्रवक्ता रोजनाथ पाण्डेले नेपालखबरलाई बताए।
उनका अनुसार प्रत्येक दलबाट एक/एक जना र स्वतन्त्र निर्वाचित ५ जना सांसदलाई पनि सर्वदलीय बैठकमा बोलाइएको छ।
'हाउस (प्रतिनिधिसभा) मा शपथ हुनुअगाडि सबै दलका प्रतिनिधिलाई संसदका ज्येष्ठ सदस्यज्यूले बोलाउनु भएको हो', उनले भने, 'त्यो बैठकमा हामी शपथ प्रक्रिया र संसद सञ्चालनबारे जानकारी दिन्छौँ।'
Shares

प्रतिक्रिया