समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो।
ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीको बैठकले सो निर्णय गरेको हो।
सो पार्टीले सरकार छाडेको घोषणा भने बुधबार गर्ने पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले बताए।
‘सरकारमा बस्नुको औचित्य समाप्त भएको निष्कर्ष पदाधिकारी बैठकले निकालेको छ,’ उनले नेपालखबरसँग भने, ‘यसको औपाचारिक घोषणा भने बुधबार हुनेछ।’
संविधान संशोधनसम्बन्धी अध्ययन समिति प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी ओलीले रोकेपछि संघीय समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले संविधान संशोधन अध्ययन समिति बनाउने प्रस्ताव राखेका थिए।
गत मंसिर ४ मा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समाजवादी पार्टीलाई कुनै परामर्श नगरी जिम्मेवारी हेरफेर गरेको भन्दै उक्त पार्टीका नेताहरु असन्तुष्ट थिए। प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयका जिम्मेवारी सम्हालेका उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मा दिएका थिए।
स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई भने उनले पदबाटै हटाइदिएका थिए।
साे पार्टीबाट हाल सरकारमा कानुनमन्त्री यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई मात्र छन्।
Shares

प्रतिक्रिया